कारोबार


हेटौँडा औद्योगिक क्षेत्रमा थपिए २ उद्योग

हेटौँडा औद्योगिक क्षेत्रमा थपिए २ उद्योग

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८२ आइतबार ११:१०, बागमती

मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम बढ्दै गएको छ। यसैक्रममा औद्योगिक क्षेत्रभित्र थप दुई उद्योग सञ्चालनको तयारीमा छन्।

हिमालय एसीपी बोर्डस् प्रालि (एल्मुनियम बोर्ड बनाउने) र टीका इन्डष्ट्रिज प्रालि (चकलेट उद्योग) केही दिनभित्रै उत्पादन गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए। लामो समयदेखि बन्द रहेका दुईवटा उद्योगको सम्झौता रद्द गरी सोही स्थानमा यी दुईवटा उद्योग सञ्चालनका लागि सम्झौता गरिएको सूचना अधिकारी नेपालले बताए।

‘सम्झौता भएलगत्तैबाट उद्योग सञ्चालनको तयारीमा सञ्चालकहरू जुटेका छन्’, उनले भने, ‘एकदुई साताभित्रै यी उद्योग सञ्चालनमा आउँछ।’

यसअघि गत वैशाखदेखि लक्की पोलि इन्डष्ट्रिजले प्लाष्टिकका सामान उत्पादन र टोटल प्याकेजिङ प्रालि प्लाष्टिकको बोरा उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको आएको थियो। गत २०८१ माघदेखि थ्रिस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कटपाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका ससाना बाकस उत्पादन गर्ने उद्योगसमेत सञ्चालनमा आएको थियो।

उनका अनुसार औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका १३ वटा उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन अवस्थामा रहेकामध्ये अधिकांश उद्योग निर्माणको अन्तिम चरणमा रहेको उहाँको भनाइ छ । यस्तै लामो समयदेखि बन्द रहेको सुप्रिम मेटल उद्योगले पनि फलामको काटी उत्पादन सुरु गरेको सूचना अधिकारी नेपालले बताए।

विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योग सञ्चालनका लागि सञ्चालकसँग सम्पर्क समन्वय भइरहेको उनले बताए। उनका अनुसार बन्द रहेकामध्ये डाइनेष्टी डिष्टलरी, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्राडक्ट प्रालि पुनः सञ्चालनको तयारी भइरहेको सञ्चालकबाट जानकारी प्राप्त भएको छ।

अमेरिका सरकारको आर्थिक सहयोगमा २०२० साल मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन्। कुल तीन हजार २२८ रोपनी क्षेत्रमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन्।

यस्तै औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायतका कम्पनी सञ्चालनमा रहँदै आएको सूचना अधिकारी नेपालले बताए।

कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल पाँच सय ९७ रोपनी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad