सरकारले चरणबद्ध रुपमा उद्योगहरु खुलाउने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोगका लागि आवश्यक पर्ने खाद्यान्न र औषधिजन्य अत्यावश्यक उद्योग, निर्माणसम्बन्धित उद्योग, निर्यातमूलक उद्योग चरणबद्ध रुपमा सञ्चालनमा ल्याउने गरी मापदण्ड तयार गरेको हो।
कोरोना संक्रमणको सुरक्षा विधि अपनाएर सञ्चालनको पहल पहिलेदेखि नै हुँदै आए पनि अबचाहिँ अनिवार्यरुपमा सञ्चालन गर्नुपर्ने मापदण्ड मन्त्रालयले बनाएको हो।
पहिलो चरणअन्तर्गत तत्कालै दैनिक उपभोग्य सामग्री उत्पादन उद्योगहरु तत्कालै सञ्चालनमा ल्याइने भएको छ।
निर्माणसम्बन्धित सिमेन्ट, पाइप, फलाम र स्टिल उद्योगहरुलाई दोस्रो चरणमा खुलाउँदै जाने र तेस्रो चरणमा निर्यातमूलक उद्योगहरुलाई सञ्चालन गर्ने योजनामा मन्त्रालय रहेको छ।
यो योजनामा मन्त्रालयले एक कार्यदल नै बनाएर अध्ययन गरिरहेको छ।
उद्योग राज्यमन्त्री मोतिलाल दुगडले उद्योग सञ्चालनको लागि आफूले ठूलो पहल गरिरहेको बताए। उनले उद्योग सञ्चालनमा परेको अप्ठ्यारोलाई मन्त्रालयले नै समाधान गर्ने तयारी भइरहेको जानकारी दिए।
‘मन्त्रालय अहिले उद्योग सञ्चालन गर्न लागिपरेको छ, यसमा रहेका समस्या समाधान गर्न कार्यदल बनाएर काम गरिरहेका छौँ’, मन्त्री दुगडले नेपालखबरसँग भने, ‘उनीहरुलाई कामदारको समस्या परे पनि त्यसको व्यवस्थापन गर्ने बाटो समेत खोज्ने तयारी भइरहेको छ।’
मन्त्रालयको औद्योगिक लगानी तथा प्रवद्र्धन महाशाखाका सहसचिव पुष्कर शाहीको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ। उक्त समितिमा अर्थ, कृषि, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य रहेका छन्।
सरकारले यो तयारी गरिरहँदा उद्योगीहरु भने तत्काल उद्योग खुलाउन कठिन हुने बताउँछन्। अधिकांश ठूला उद्योगहरु तयारी भेगमा रहेको र केही कामदार भारतीय समेत रहेकाले तत्कालै उद्योग सञ्चालनमा कठिनाइ हुने वीरगञ्जका उद्योगी नवल किशोर चौधरी बताउँछन्।
खाद्यान्न तथा निर्माण दुवै किसिमका उद्योग सञ्चालन गर्ने चौधरी भारतको मानिसहरु नेपाल आउजाउ गर्नसक्ने स्थिति नआएसम्म उद्योग सञ्चालन गर्न नसकिने जिकिर गर्छन्।
उनले नेपालखबरसँग भने, ‘उद्योगहरुमा भारतीय रहेका छन्, जो अहिले भारतमै छन्। उनीहरुलाई ल्याएर मात्र उद्योग सञ्चालन गर्नुपर्ने हुन्छ तर त्यो काम अहिले निकै जोखिमपूर्ण रहेकोले तत्कालै उद्योग सञ्चालन गर्न सकिँदैन।’
त्यस्तै पञ्चकन्या ग्रुपका निर्देशक ध्रुवकुमार श्रेष्ठ पनि उद्योग सञ्चालन गर्न आफूहरु पनि हतारिएको तर परिस्थिति सामान्य नभएको बताउँछन्। उनले भने, ‘सरकारले खोल्नु भने पनि आँट गर्न सक्ने अवस्था छैन।’
श्रेष्ठ विशेष गरी भैरहवामा स्टिल उद्योगमा केन्द्रित रहेर काम गर्दै आइरहेका छन्।
‘हाम्रो उद्योगमा थोरै मात्र भारतीयले काम गर्छन्, धेरै नेपाली कामदार नै रहेका छन्’, उनले भने, ‘तर पनि जोखिम कम नभएसम्मको लागि सञ्चालन गर्न कठिन छ।’
तर मन्त्रालयले भने दैनिक उपभोगय वस्तु सञ्चालनको पहल पहिलेदेखि भएको र ४० प्रतिशत उद्योग सञ्चालनमै रहेको जनाएको छ।
प्रतिक्रिया