कारोबार


लुटपाट र आगजनीबाट ठूलो क्षति व्यहोरे पनि व्यवसायीले देखाए उच्च मनोबल, भन्छन्– अझ बलियो भएर उठ्नेछौँ

लुटपाट र आगजनीबाट ठूलो क्षति व्यहोरे पनि व्यवसायीले देखाए उच्च मनोबल, भन्छन्– अझ बलियो भएर उठ्नेछौँ

मीनबहादुर गुरुङ, निर्वाण चौधरी, शेखर गोल्छा र चन्द्र ढकाल (बायाँबाट क्रमशः)


निर्दोष घोरसाइने
भदौ २८, २०८२ शनिबार १६:२३, काठमाडौँ

सोमबारदेखि सुरु भएको जेनजी प्रदर्शन दोस्रो दिनमै उत्कर्षमा पुग्यो तर किशोर युवापुस्ताले ठूलो मूल्य चुकाउनुपर्‍यो। दुईदिने प्रदर्शनमा चार दर्जन बढीले सरकारी दमनबाट मृत्युवरण गरे।

भ्रष्टाचार अन्त्य र रोजगारी सिर्जनाको मूल माग बोकेर भएको जेनजी प्रदर्शन अहिले साम्य भएर अन्तरिम सरकार गठनको कसरत चलिरहेको छ। यही घटनाक्रमका बीच देशमै रोजगारी सिर्जना गरिरहेका उद्योगपति र व्यवसायी भने मझधारमा परेका छन्। 

देश र जनताको भविष्यको सवाल जोडिएको यो नवीन परिस्थितिमा युवापुस्ताको ज्यानको बाजी एकातिर छ भने अर्कोतिर छ– उनीहरुको आक्रोशमा जलेर खरानी भएको आफ्नो उद्योग र व्यवसाय। 

मंगलबारको प्रदर्शनमा दन्किएको आगोले धेरै व्यापारी र व्यवसायीको पुँजी, वर्षौँको पसिना, मिहिनेत र सपना जलाइदिएको छ।  

निजी क्षेत्रले सामना गरेको यो क्षतिको एकीन विवरण आउन अझै धेरै दिन लाग्नेछ। होटल संघ नेपाल (हान)ले २ दर्जन होटलहरु आन्दोलनकारीको निशानामा परेको र यसबाट करिब २५ अर्ब रुपैयाँबराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिसकेको छ। त्यस्तै भाटभटेनीको सुपरस्टोर साम्राज्यमा उक्त प्रदर्शनले लामै समयका लागि पूर्णविराम लगाइदिएको छ। 

यसरी दशकौँदेखि स्थापित व्यवसाय, घर र प्रतिष्ठान क्षणभरमा ध्वस्त हुँदा उनीहरुका आँखा आँशुले चुर्लुम्म त छन् नै। सँगसँगै हजारौँले रोजीरोटी गुमाएका छन्। स्वदेशमै केही गर्छु भन्ने सोचले गरेको परिश्रम यसरी खेर जाला भन्ने उनीहरुले सोचेकै थिएनन्। 

सत्ता र प्रदर्शनकारीको बीचमा परेका व्यवसायीहरु किंकर्तव्यविमूढको अवस्थामा पुगेका छन् तर आत्तिएका छैनन्। वर्षौँको श्रम डढेर बनेको खरानी पखालेर उभिन उनीहरु तयार देखिएका छन्। 

पछिल्ला भयानक दुई दिनलाई बिर्सिएर आगामी दिनको संघर्षपूर्ण यात्रा अगाडि बढाउन तम्तयार रहेको व्यवसायीहरु बताउँछन्। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छा अझै सशक्त भएर देशमा रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध रहेको बताउँछन्।   

जेनजी प्रदर्शनको क्रममा आफू र आफ्नो परिवार पनि प्रभावित भएको तर निराश वा विचलित नभएको उनको प्रस्टोक्ति छ। 

‘आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रुपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु’, आगोले ध्वस्त आफ्नो संरचनाको गेटको तस्बिर राख्दै उनी फेसबुकमा भन्छन्। 

जेनजी प्रदर्शनको क्रममा सबैभन्दा धेरै क्षति व्यहोरेको व्यवसायी मीनबहादुर गुरुङको भाटभटेनी सुपरस्टोरले पनि पुनः उभिने प्रतिबद्धता व्यक्त गरेको छ। 

बिहीबार एक भिडिओ सार्वजनिक गर्दै सुपरस्टोरले ग्राहक, उपभोक्ताकै साथमा पुनः अझ मजबुत भएर उभिने दृढता व्यक्त गरेको हो। 

बौद्ध भाटभटेनी बलिरहेको भिडिओ सेयर गर्दै उसले भनेको छ, ‘भत्केको घरलाई उठाउनु छ माथि। टुगेदर वि विल राइज अगेन।’
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष तथा सीजी होल्डिंग्सका व्यवस्थापकीय निर्देशक एवं प्रमुख कार्यकारी करण चौधरी पनि विगतलाई बिर्सिएर राष्ट्र निर्माणमा जुट्न आह्वान गर्छन्।

उनले विगत केही दिन कसैले नचाहेका पीडादायी क्षणहरु भए पनि पछाडि छोडिसकेकाले अब यसलाई नेपाललाई नयाँ उचाइमा पुर्‍याउने अवसरमा बदल्नुपर्ने बताउँछन्। 

देशले सबैथोक दिएकाले अब हामीले नै मिलेर विश्वमाझ नेपाललाई महान बनाउनुपर्ने उनको आह्वान छ।

चौधरी ग्रुप (सीजी)का व्यवस्थापकीय निर्देशक निर्वाण चौधरीले सीजी परिवारलाई हतोत्साहित नहुन आह्वान गरेका छन्। 

सामाजिक सञ्जालमार्फत उनीहरुलाई सम्बोधन गर्दै एमडी चौधरीले आफ्नो ज्यान जोखिममा राखेर प्रतिकूल परिस्थितिमा पनि सकेको जोगाएकोमा सीजी परिवारको उच्च प्रशंसा गरेका छन्। सीजी पुनः उठ्ने र अझै बलियो हुने उनको प्रतिबद्धता छ। 

जेनजी प्रदर्शनमा सीजीको सम्पत्तिमा पनि ठूलो क्षति भएको छ। सवारीसाधन शोरुमहरु, सीजी पार्कलगायतमा तोडफोड र आगजनी भएको थियो। 

बीएलसी होल्डिंग्सका अध्यक्ष वसन्त चौधरीले जलेको घरको भिडियो राख्दै ‘जब सम्झना खरानीमा बदलिन्छ’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले घर सम्पत्ति जलेर खरानी भए पनि परिवारको सम्झना, मूल्य र मायालाई आगोले नष्ट गर्न नसक्ने उल्लेख गरेका छन्।

जीवनमा दुःख संघर्ष आए पनि परिवारप्रतिको प्रेम र संस्कार सदैव अमर रहने उनको भनाइ छ।

हिमालयन अर्गनाइजेसनका प्रबन्धनिर्देशक सौरभ थापाको घर, कार्यालय र भाडामा दिइएको कार्यालय पनि प्रदर्शनकारीको निशानामा पर्‍यो। यसैको परिणाम मंगलबारको विध्वंस हुनसक्ने उनको बुझाइ छ। 

केही समूहको स्वार्थका कारण मुलुक १० वर्ष पछि धकेलिएको हुनसक्ने बताउँदै उनले भनेका छन्, ‘हामी फेरि उठ्नेछौँ, यही नेपालमा। हाम्रो सम्पत्ति खरानीमा परिणत भएको छ। आत्मा अझ बलियो भएर दह्रिएको छ। कुनै आयोगले यसलाई नष्ट गर्न सक्दैन।’

त्यसो त निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पनि बुधबार महासंघको कार्यकारिणी समिति र पूर्वअध्यक्षहरूसँगको बैठकपछि विज्ञप्ति जारी गर्दै विचलित नहुन उद्योगी व्यवसायीमा अपिल गरेका छन्। 

विकसित घटनाक्रम विवेकपूर्ण अवतरण भई मुलुक समुन्नतिको यात्रामा अघि बढ्ने अपेक्षा गरेको उनले बताएका छन्।

‘महासंघले सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक् स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोगजस्ता विषयप्रति युवापुस्ताले देखाएको चासोप्रति सम्मान व्यक्त गर्दै विकसित घटनाक्रम विवेकपूर्ण अवतरण भई मुलुक समुन्नतिको यात्रामा अघि बढ्ने अपेक्षा गरेको छ’, महासंघले विज्ञप्तिमार्फत भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad