कारोबार


दसैँको मुखैमा दुई दिनदेखि जलिरहेछन् भाटभटेनीमा अर्बौँका सामान, २७ स्टोरमध्ये ७ वटा मात्रै बचे

कुन ठाउँको स्टोरमा कति थियो गुरुङको लगानी?
दसैँको मुखैमा दुई दिनदेखि जलिरहेछन् भाटभटेनीमा अर्बौँका सामान, २७ स्टोरमध्ये ७ वटा मात्रै बचे

सम्झना घिमिरे
भदौ २६, २०८२ बिहिबार १५:३७, काठमाडौँ

मंगलबार जेनजी प्रदर्शन चर्किएपछि देशका व्यावसायिक र व्यापारिक भवनहरुमा लगाइएको आगो अझै नियन्त्रणमा आउनसकेको छैन।

नक्सालको हिल्टन होटलदेखि उपत्यकाभित्रकै भाटभटेनी सुपरस्टोरहरुमा दुई दिन बितिसक्दा अर्बौँ मूल्यका सामानहरु जलिरहेका छन्। 

ठूलो चाड दशैँकै सम्मुखमा भएको यो क्षति अपूरणीय रहेको व्यवसायीहरुले बताएका छन्। 

एक व्यवसायीले भने, ‘भाटभटेनीमा व्यवसायीहरुले उपभोक्ताका लागि चाडपर्वको मुखैमा ल्याएका अर्बौँ सामान अझै जलिरहेका छन्। यसले ठूलो परिमाणमा उपभोग्य सामान नष्ट भएको छ।’

मंगलबार प्रदर्शनकारीहरुले देशैभर सरकारी कार्यालयसँगै व्यावसायिक भवनहरुलाई मुख्य निशाना बनाएका थिए। जसमा ठूलो क्षति भोग्नेमा परेका छन् व्यवसायी मीन बहादुर गुरुङ। उनले देशैभर विस्तार गरेको खुद्रा व्यवसायमा मंगलबारको विध्वंसले ठूलो धक्का दिएको छ। 

गुरुङको भाटभटेनीका मात्रै एउटा गोदामसहित ११ वटा स्टोर आन्दोलनकारीले जलाइदिएका छन्। कतिपयमा आगो अझै दन्किरहेको छ। भाटभटेनी प्रशासन स्रोतका अनुसार एकै स्टोरमा ४० देखि ५० करोडसम्मका सामानहरु छन्। जुन गएको २ दिनदेखि दनदनी जलिरहेका छन्।

स्रोतका अनुसार दशैँलाई लक्षित गरेर हरेक स्टोरमा सामान भरिभराउ थिए। चाडपर्वलाई लक्षित गर्दै भाटभटेनीले आफूमातहतका कम्पनीहरुलाई पनि सामान थप्न लगाएको थियो।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले सम्पूर्ण क्षतिको विवरण आउन समय लाग्ने बताए। 

‘धेरै ठाउँमा क्षति भएको छ, अध्ययन गर्दै छौँ, एकीन विवरण आउन अझै दुई÷चार हप्ता लाग्ने देखिन्छ’, उनले नेपालखबरसँग भने। 
बिहीबारसम्म विराटनगर, इटहरी, दमक, हेटौँडा, पोखरा र उपत्यकाका शाखाहरुमा आगो निभिसकेको छैन।

सञ्चालक गुरुङले देशका सातवटै प्रदेशमा २७ वटा स्टोर सञ्चालनमा ल्याएका थिए। जसमा उपत्यकामा रहेको भाटभटेनीको मुख्यालय र बालुवाटारको मुख्य गोदाम, महाजगन्ज, बौद्ध र कोटेश्वरको स्टोरमा आगो लागेको थियो। 

योबाहेक पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा रहेका स्टोरहरुमा पनि आगो लगाइएको छ। 

समग्रमा एकै दिन देशभरका २७ वटा स्टोरमध्ये १२ वटा स्टोर जलेर पूर्ण नष्ट भएका छन् भने ९ वटामा तोडफोड र लुटपाट समेत भएका छन्। 

लुटपाट हुनेमा कलंकी, राधेराधे, बालाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवाका स्टोरमा तोडफोड र लुटपाट भएको प्रमुख सञ्चालन अधिकृत पौडेलले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार हालसम्म २७ मध्ये ७ वटा स्टोर मात्रै सुरक्षित देखिएको हो। 

उपत्यकाका टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर र पाटनको स्टोर सुरक्षित रहँदा उपत्काकाबाहिरको भने नेपालगन्जको स्टोर सुरक्षित रहेको उनले बताए।

कुन ठाउँको स्टोरमा कति थियो गुरुङको लगानी?
खरानी भएका १२ मध्ये ११ वटा स्टोर (सपिङ कम्प्लेक्स) छ भने एउटा मुख्य गोदाम छ। गोदाममा झण्डै ६० करोड बढीको वस्तु राखिएका थिए। 

यस्तै मुख्यालय रहेको टंगालको स्टोरमा गत वर्ष मात्रै गुरुङले थप डेढ अर्ब लगानी थपेर भवन विस्तार गरेका थिए। जसमा १ अर्बबराबरको वस्तु हुनसक्ने आकलन गरिएको छ। 

खरानी बनेका स्टोर इटहरीको स्टोरमा गुरुङले ३ अर्ब लगानी गरेका थिए भने त्यहाँ ३५ देखि ४० करोडसम्मको सामान राख्ने क्षमता थियो। सो स्टोरमा मात्रै ४ सय जना कर्मचारी कार्यरत थिए।

यस्तै १ अर्ब लगानीमा खुलेको विराटनगरको स्टोरमा ५ सय कर्मचारी थिए भने ४० करोडको हाराहारीमा सामान राख्ने क्षमता थियो। 

झापाको दमकमा पनि १ अर्ब ५० करोड लगानी रहेको स्टोरमा ३ सय जना कर्मचारी थिए भने २ अर्ब लगानीमा खुलेको बिर्तामोडको स्टोरमा ३ सय ५० जना कर्मचारी थिए। 

यस्तै गुरुङको हेटौंडा स्टोरमा १ अर्ब ५० करोड लगानी थियो भने चितवन र पोखरामा पनि ७५-७५ करोडको लगानी थियो। 

उपत्यकाका चारवटा स्टोरमा पनि गुरुङको अर्बौँको लगानी जलेर नष्ट बनेको हो। 

हरेक स्टोरमा ३ सयदेखि ५ सयसम्म र समग्रमा ८ हजार बढी कर्मचारीले रोजगारी पाउँदै आएका थिए भने दशैँलाई लक्षित गर्दै भाटभटेनीसहित सोमातहतका सयौँ ट्रेडरहरुको अर्बौँको सामान जलेको हो। 

हालसम्म कति रकमबराबरको क्षति भयो भन्ने विवरण आइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad