भारत सरकारले एयरलाइन्सहरुलाई अहिले टिकट बुकिङको काम बन्द गर्न निर्देशन दिएको छ। नागरिक उड्डयनमन्त्री हरदिप सिंह पुरीले एयरलाइन्सको टिकट बुकिङ नखोल्न भनेका हुन्।
केही एयरलाइन्सले टिकट बुकिङ खुल्ला गरी पैसा जम्मा गर्न थालेको भन्दै उनले त्यसो नगर्न भनेका हुन्।
‘केही एयरलाइन्सहरुले टिकट बुकिङ खुल्ला गरी पैसा संकलन सुरु गरेका छन् । आइतबार निर्देशन जारी गरी अहिले टिकट बुकिङ गर्न प्रतिबन्ध लगाएका छौं’, मन्त्री हरदिप सिंह पुरीले ट्विट् गर्दै भनेका छन्।
एयर इन्डियाले शनिबार मे ४ देखि आन्तरिक उडान गर्ने घोषणा गर्दै टिकट बुकिङ सुरु गरेको थियो। त्यस्तै कम्पनीले जुन १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने भनेको थियो।
मन्त्री पुरीले अहिलेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा कुनै निर्णय नभएको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘एयरलाइन्सहरुलाई बुकिङको लागि पर्याप्त समय दिई सूचना जारी गरिनेछ।’
हवाइ उडानमा प्रतिबन्ध कोरोना भाइरसविरुद्धको लडाइँको लागि भएको भन्दै कोरोना संक्रमणको फैलने खतराबाट जोगिनको लागि यो कदम आवश्यक रहेको बताएका छन्।
कोरोना भाइरसका कारण मे ३ सम्म लकडाउन घोषणा भएपछि भारतको आन्तरिक तथा बाह्य दुवै हवाइसेवा बन्द रहेका छन्।

प्रतिक्रिया