कारोबार


२५ मिलियन डलरमा ८६० मेगावाटको तीला आयोजना बेच्न अदानी समूहसँग ‘डिल’ गर्दै बिचौलिया भट्ट

२५ मिलियन डलरमा ८६० मेगावाटको तीला आयोजना बेच्न अदानी समूहसँग ‘डिल’ गर्दै बिचौलिया भट्ट

कुबेर चालिसे/निर्दोष घोरसाइने
भदौ २३, २०८२ सोमबार ६:५६, काठमाडौँ

भारतीय धनाढ्य तथा औद्योगिक घराना अदानी समूहले वर्षौँदेखि लगानीको अभावमा अलपत्र परेको कर्णाली प्रदेशको ८६० मेगावाट क्षमताको महत्त्वाकांक्षी तीला–१ र तीला–२ जलविद्युत् आयोजना निर्माणमा चासो देखाएको छ। 

आयोजनाको प्रवर्द्धक एससी पावर कम्पनीले लगानी जुटाउन असफल भएपछि विवादास्पद छविका बिचौलियामार्फत अदानी समूहसँग वार्ता अघि बढाएको थियो। सोसँगै अदानी समूहले आयोजनामा चासो दिएको हो। तर यस घटनाले ऊर्जा क्षेत्रमा भने नयाँ तरंग सिर्जना गरेको छ।

विद्युत नियमन आयोगले उक्त आयोजनामा अदानी समूहले चासो राखेको पुष्टि गरेको छ। विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले अदानी समूहका प्रतिनिधिहरू आयोजनाबारे जानकारी आयोगमा आएको बताए।

‘अदानी समूहले तीला–१ र तीला–२ आयोजना उत्पादन र त्यसको निकासीका लागि आवश्यक प्रसारण लाइन निर्माणमा समेत गहिरो चासो देखाएको छ’, अध्यक्ष धितालले नेपालखबरसँग भने, ‘जलविद्युत् र प्रसारणलाइन दुवै निर्माण गर्न अदानी समूह उत्सुक रहेको मैले पाएँ।’

पछिल्लो समय तीला–१ र तीला–२ को प्रवर्द्धक कम्पनी एससी पावरले चौधरी समूहलाई पन्छाउँदै आफूलाई व्यापारी बताउने विवादास्पद बिचौलिया दीपक भट्टको अगुवाइमा अदानी समूहसँग सिधै वार्ता गरिरहेको स्रोतहरूको भनाइ छ।

यसअघि चौधरी समूहले तीला आयोजनामा अदानीलाई भित्र्याउन लबिङ गरेको थियो तर दुई पक्षबीच आधिकारिक सम्झौता हुनसकेको थिएन। आयोजनाका प्रवर्द्धकले पनि अदानी समूहका प्रतिनिधि नेपाल आएको र लगानीमा आशय व्यक्त गरेको स्वीकारेका छन्।

उनीहरूले करिब २५ मिलियन अमेरिकी डलरमा परियोजना बिक्री गर्ने योजना बनाएको तर त्यसमा केही लचकता अपनाउन सकिने संकेत दिएका छन्।

‘वार्ता सकारात्मक रूपमा अघि बढेको छ र छिट्टै सहमतिमा पुग्ने विश्वास छ’, एक प्रवर्द्धकले भने।

तीला–१ र तीला–२ को प्रवर्द्धक एससी पावर कम्पनीमा डा. इमान सिंह गुरुङ र हरिश चन्द्र शाहको मुख्य लगानी छ भने लोक बहादुर पुनको पनि केही सेयर छ। तर, स्रोतका अनुसार हाल यी सबै लगानीकर्तालाई पछि पार्दै बिचौलिया भट्टले आयोजनालाई आफ्नो कब्जामा लिएर डिल गरिरहेका छन्।

नेपाल विद्युत् प्राधिकरणसँग ‘टेक अर पे’ प्रावधानमा विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको भए पनि प्रवर्द्धक कम्पनी एससी पावरले लगानी जुटाउन सकेको छैन।

कम्पनीले वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरिसकेको दाबी गरे पनि लगानी नआउँदा पछिल्लो दुई वर्षदेखि प्राधिकरणलाई हर्जना तिरेर लाइसेन्स मात्र होल्ड गरिरहेको छ। 

यसैबीच अदानी समूहले नेपालमा ५ हजार मेगावाट क्षमताका आयोजनामा लगानी गर्ने योजना बनाएको खबरले तीलाका प्रवर्द्धकहरू उत्साहित भएका थिए।

नेपाल र भारतबीच सन् २०१४ मा भएको विद्युत् व्यापार सम्झौताका कारण पनि अदानी समूह यस्ता ठूला आयोजनामा आकर्षित भएको मानिन्छ। तीला आयोजनाबाट उत्पादन हुने अतिरिक्त ७६० मिलियन किलोवाट आवर ऊर्जा भारत निर्यात गर्ने योजना छ।

कालिकोट जिल्लामा अवस्थित यी आयोजनाहरू कर्णाली प्रदेशको आर्थिक विकासका लागि ‘गेम चेन्जर’ साबित हुने अपेक्षा गरिएको छ।

तर, ‘झोलामा खोला बोकेर’ विदेशी लगानी खोज्दै हिँड्ने प्रवर्द्धक र बिचौलियाको चलखेलका कारण यस्ता महत्त्वपूर्ण आयोजनाहरू वर्षौंदेखि कागजमै सीमित छन्।

आयोजना सफल हुन बलियो र विश्वसनीय लगानी, प्रवर्द्धकको स्पष्ट कार्ययोजना र सरकारी निकायको प्रभावकारी समन्वय अनिवार्य देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad