कारोबार


एमसीसी परियोजनाका दुई प्रसारणलाइनको निर्माण सम्झौता, कुन–कुन कम्पनीले पाए?

एमसीसी परियोजनाका दुई प्रसारणलाइनको निर्माण सम्झौता, कुन–कुन कम्पनीले पाए?

नेपालखबर
साउन २९, २०८२ बिहिबार १३:५८, काठमाडौँ

मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरेको छ।

एमसीए–नेपालले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट आज एक समारोहबीच रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण सम्झौता एञ्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरेको हो।

दुवैकाे संयुक्त लागत १५ दशमलव ४५ करोड अमेरिकी डलर रहेको एमसीए नेपालले जनाएको छ। यी सम्झौताअन्तर्गत १८० किमि लामो ४०० केभी प्रसारणलाइनको डिजाइन, स्थापना, परीक्षण, सञ्चालनलगायत काम गरिनेछ।

अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधि, अमेरिकी दूतावासका अधिकारीहरूको समुपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र उक्त दुई कम्पनीका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

“यी सम्झौतामा हस्ताक्षर गरी एमसीसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनः पुष्टि गरेको छ”, एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले भने, “नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीसँगको सहकार्य र समन्वयमा काम गर्न पाउँदा गौरवान्वित भएका छौँ।”

अर्थ मन्त्रालयका सचिव तथा एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारणलाइन र सबस्टेसन निर्माणसम्बन्धी नेपाल सरकारको योजनालाई कार्यान्वयन गर्न अमेरिकी सरकारबाट प्राप्त आर्थिक सहयोगको सराहना गर्दै यस कार्यक्रमका लागि सरकारी सहयोग निरन्तर रहने बताए।

“आज भएको निर्माण सम्झौता एउटा उपलब्धि मात्र नभई नेपालको विकास र समृद्धिप्रति अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतिक हो”, नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले भने, “यस साझेदारीमार्फत हामी विद्युत् प्रसारणलाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौँ, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौँ । एमसीसी कम्प्याक्ट नेपाल र अमेरिकाबीचको सहकार्यको आधारशीला हो । सम्पूर्ण नेपाली नागरिकलाई लाभान्वित गर्दै सहकार्यबा माध्यमबाट अगाडि बढ्न पाउँदा गर्वको अनुभूति गरिरहेका छौँ।”

एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले भने, “कम्प्याक्टलाई अगाडि बढाउन अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोग र पछिल्लो अनुमतिको हामी सराहना गर्छौँ। आजको यो महत्त्वपूर्ण उपलब्धिमा यस राष्ट्रिय गौरव आयोजनाप्रति नेपाल सरकार र सबै सरोकार भएकाको साझा प्रतिबद्धता प्रतिविम्बित भएको छ । हामी दिगो सहकार्य गर्दै सफल कार्यान्वयनमा केन्द्रित छौँ ।”

एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका क्षेत्रमा गरिएको ६९ करोड ७० लाख अमेरिकी डलरको ऐतिहासिक लगानी हो । विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआवद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पु¥याउन एमसीसी नेपाल कम्प्याक्ट तयार गरिएको हो ।

अमेरिकी सरकारबाट पछिल्लो समयमा वैदेशिक सहायता समीक्षा सम्पन्न भएपछि दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको हो । यो उपलब्धिले नेपालमा सञ्चालन भइरहेका रूपान्तरणकारी पूर्वाधार निर्माणसम्बन्धी साझेदारीमध्ये एक एमसीसी नेपाल कम्प्याक्टको सफल कार्यान्वयनप्रति दुवै सरकारको प्रतिबद्धताको पुष्टि गरेको छ ।

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी घटाउन काम गर्ने स्वतन्त्र अमेरिकी सरकारी निकाय हो । सन् २००४ मा स्थापना गरिएको एमसीसीले सुशासन, भ्रष्टाचार नियन्त्रण, लोकतान्त्रिक अधिकारप्रति सम्मानलगायत महत्त्वपूर्ण मापदण्डहरू पालना गर्ने राष्ट्रहरूलाई समयसीमायुक्त अनुदान र सहायता प्रदान गर्दछ ।

यसैगरी मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) नेपाल सरकारले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतका आयोजनाहरू कार्यान्वयनका लागि विसं २०७५ वैशाखमा विकास समिति ऐन, २०१३ अन्तर्गत गठन गरिएको सरकारी स्वामित्वको कानुनी निकाय हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad