कारोबार


अनुदान माग गर्दै सर्लाही र महोत्तरीका उखु किसान सडकमा

अनुदान माग गर्दै सर्लाही र महोत्तरीका उखु किसान सडकमा

नेपालखबर
साउन २१, २०८२ बुधबार १२:५४, काठमाडौँ

सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेपछि सर्लाही र महोत्तरीका उखु किसान आन्दोलन सुरु गरेका छन्। 

विगत एक दशकदेखि सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको थियो। तर, चालु आर्थिक वर्षदेखि किसानलाई अनुदान नदिने नीति सरकारले लिएपछि उखु किसानले आन्दोलन सुरु गरेका हुन्। 

गत सिजनमा क्रसिङ भएको उखुको प्रतिक्न्टिल ३५ रुपैयाँकाे दरले मात्रै अनुदान दिने निर्णय गएको असार अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो। 

उखुमा दिँदै आएको अनुदानलाई निरन्तरता नदिए आन्दोनल थप चर्काउँदै लैजाने तयारीमा किसान छन्।  

गएको आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूले अनुदानलाई निरन्तरता दिनुपर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए। किसानले मङ्गलबार सर्लाही र महोत्तरीमा प्रदर्शन गरेका छन्। 

उनीहरूले सर्लाहीको इन्दु शंकर र महोत्तरीको एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शन गरेर सरकारकाे ध्यानाकर्षण गराएका छन्।

‘यस वर्षको बजेटमा अनुदानको रकम नसमेटिएको विषयमा हामीले सरकारको ध्यानाकर्षण गराउँदै आएका छौँ,’ उखु उत्पादक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, ‘हाम्रो मागको सुनुवाइ नभए आन्दोनललाई थप सशक्त बनाउने छौँ।’ 

सरकारले उखुमा दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने, गत आर्थिक वर्ष २०८१/८२ को अनुदानबापतको रकम तुरुन्त किसानलाई उपलब्ध गराउनुपर्ने, वर्सेनि उखुको मूल्य निर्धारण गरिनुअघि उखु किसानका प्रतिनिधि, चिनी उद्योग र सरकारबीच त्रिपक्षीय सहमति हुनपर्ने माग पनि किसानको छ। 

माग सम्बोधन नभए आगामी भदौ ८ गतेदेखि राजधानीकेन्द्रित आन्दोलन गर्ने चेतावनी उखु किसान सम्बद्ध संघसंस्थाले दिएका छन्। 

महोत्तरीका किसानले मात्रै गत आर्थिक वर्ष चिनी उद्योगलाई बुझाएको उखुको २१ करोड ७२ लाख ९१ हजार रकम बाँकी छ। देशभरका किसानलाई सरकारले अनुदानबापत्त १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad