कारोबार


पोखरा जाने सडक अन्त चिटिक्क बन्दा मन्त्रिपरिषद्को त्रुटिपूर्ण निर्णयले रोकियो मुग्लिङ–आँबुखैरेनी खण्ड

पोखरा जाने सडक अन्त चिटिक्क बन्दा मन्त्रिपरिषद्को त्रुटिपूर्ण निर्णयले रोकियो मुग्लिङ–आँबुखैरेनी खण्ड

मुग्लिन-पोखरा सडकको काम भएको स्थानको दृश्य ।


निर्दोष घोरसाइने
साउन २१, २०८२ बुधबार १०:४७, काठमाडौँ

पर्यटकीय नगरी पोखरा जोड्ने पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–पोखरा सडक धमाधम विस्तार भइरहेको छ। 

बजार क्षेत्रमा ६ लेन र पहाडी क्षेत्रमा चार लेनमा धमाधम फराकिलो बनाइरहे पनि ८.२५० किमिमा भने काम नै सुरु भएको छैन। 

मुग्लिङ–पोखरा सडक खण्डअन्तर्गतको मुग्लिङ–आँबुखैरेनी सडकखण्डमा काम हुन नसकेको हो। 

यसो हुनुको कारण भने मन्त्रिपरिषद्को निर्णय लेख्दा भएको शब्दत्रुटि हो। 

२०७५ चैतको मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यससम्बन्धी प्रस्तावलाई स्वीकृति गर्दा यस्तो त्रुटि भएको थियो। 

उक्त मन्त्रिपरिषद्को निर्णयमा लेखिएको छ, ‘मुग्लिङ–पोखरा सडकको मुग्लिङ–आँबुखैरेनी खण्डमा हाल कायम रहेको मर्स्याङ्दी नदीको बायाँ किनारको दुई लेन सडकको अतिरिक्त थप दुई लेन सडकको रेखांकन स्वीकृत गरी ती सडकखण्डहरुलाई राजमार्गको मापदण्ड कायम गरी लागू गर्ने निर्णय गरेको छ।’

यसरी सडक निर्माण नभएको स्थानबाटै थप दुई लेन सडकको रेखांकनलाई स्वीकृति दिएपछि यो त्रुटिलाई मध्यनजर नगरी सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी)ले पूर्वतयारीको प्रक्रिया अघि बढायो। फलत: यस खण्डमा हालसम्म काम नै हुन सकेको छैन।

निर्देशनालयका सूचना अधिकारी धुव्रकुमार श्रेष्ठ तत्कालीन समयमा उक्त निर्णयमा विचार तथा नजर नपुगेको बताउँछन्। 

‘मन्त्रिपरिषद्बाट निर्णय भयो। र डिजाइन गराइयो’, श्रेष्ठले नेपखलबरसँग भने, ‘तर कार्यान्वयनको चरणमा जान खोज्दा जटिलता उत्पन्न भयो।’ 

आँबुखैरेनी–पोखरा सडक खण्ड निर्माण सुरु भएसँगै मुग्लिङ–आँबुखैरेनी सडक पनि विस्तार गर्ने योजना थियो। भौगोलिक र संरचनागत जटिलताले गर्दा मुग्लिङ–आँबुखैरेनी खण्ड मुग्लिङ–पोखरा सडक खण्ड विस्तारकै क्रममा अघि बढाउन समस्या थियो।  

हाल सडक विस्तार प्रक्रिया अघि नबढेको यस खण्डमा मर्स्याङ्दी जलविद्युत् परियोजनाअन्तर्गतको पावर स्टेसन छ। कडा चट्टान र पावर स्टेसनले गर्दा यस खण्डमा मर्स्याङ्दी नदीको दुवै किनारबाट सडक विस्तार गर्ने योजना छ। 

नदीको दायाँ किनारतर्फ पृथ्वी राजमार्ग छ। थप लेन नदीको बायाँ किनारातर्फ विस्तार गर्नुपर्ने हुन्छ। रेखांकन नभएको स्थानमा सडक विस्तार गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने हुादा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले योजनाबमोजिम मर्स्याङ्दी नदीको बायाँ किनारमा पनि सडक विस्तार गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। तर नीतिगत निर्णय गर्दा गलत शब्द चयन हुँदा मुग्लिङ–आँबुखैरेनी सडक विस्तार प्रक्रिया नै अघि नबढेको हो। 

निर्देशनालयले चालू आर्थिक वर्षमा मुग्लिङ–आँबुखैरेनी सडक योजना अघि बढाउने प्रस्ताव भौतिक मन्त्रालयमा पठाएको थियो। तर मन्त्रिपरिषद्को सो निर्णय र डिजाइनमा फरक देखिएपछि विस्तारकार्यमा जटिलता भयो। 

निर्देशनालयले नदीको दुवै तर्फबाट सडक निर्माण गर्ने गरी डिजाइन पेस गरेको छ। तर मन्त्रिपरिषद्को निर्णयमार्फत मर्स्याङ्दी नदीको बायाँ किनारको दुई लेन सडकको अतिरिक्त बायाँ किनारमा निर्माण गरिने थप दुई लेन सडकको रेखांकनलाई स्वीकृति दिइएको हो। 

यसका आधारमा नदीको दुवैतर्फ सडक बनाउन सम्भव देखिँदैन। यसका लागि मन्त्रिपरिषद्को निर्णय सच्याउनुपर्ने हुन्छ। हाल सोहीअनुसार आयोजनाले टिप्पणी उठाएर मन्त्रालयमा पेस गरिसकेको श्रेष्ठले जानकारी दिए। 

मन्त्रिपरिषद्को निर्णय सच्चिएर आएपछि मात्र मुग्लिङ–आँबुखैरेनी सडक विस्तारको प्रक्रिया अघि बढ्नेछ। 

६ वर्षसम्म नजर पुगेन 
सडक विस्तारका लागि मन्त्रिपरिषद्ले रेखांकन स्वीकृत गरेपछि निर्देशनालयले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), जग्गाप्राप्ति, विस्तृत परियोजना प्रतिवेदनलगायत पूर्वतयारीको प्रक्रिया अघि बढायो। आयोजना निर्माण चरणमा प्रवेश गर्नुअघि ईआईए अनिवार्य रुपमा स्वीकृत हुनुपर्छ। यसमा समय लाग्यो। वन तथा वातावरण मन्त्रालयले २०८१ चैत १२ गते ईआईए स्वीकृत ग¥यो। 

डीपीआर तयार भइसकेको र केही रोपनी जग्गा प्राप्त गर्न बाँकी तथा ईआईए स्वीकृत भइसकेकाले निर्देशनालयले आयोजना कार्यान्वयन गर्न भनेर मन्त्रालयमा फाइल पठाएपछि मात्र निर्णयमा भएको त्रुटिमा नजर पर्न गयो। 

निर्देशनालयका अनुसार ८० वटा कित्ताको करिब ६० रोपनी जग्गा अधिग्रहण गर्न बाँकी छ। मन्त्रिपरिषद्को निर्णय सच्चिएपछि जग्गाप्राप्तिको काम सुरु हुन्छ। त्यो सकेर पूर्वतयारीको सम्पूर्ण काम सकेर डीपीआर स्वीकृत गरेर इस्टिमेट स्वीकृत गरेर ठेक्का प्रक्रियामा अघि बढ्ने श्रेष्ठले बताए। 

आँबुखैरेनी–पोखरा खण्डको प्रगति
मुग्लिङ–पोखरा सडकलाई तीन खण्ड विभाजन गरेर निर्माण प्रक्रिया अघि बढाउने योजना छ। ती तीन खण्ड हुन्, मुग्लिङ–आँबुखैरेनी ८.२५० किलोमिटर, आँबुखैरेनी–जामुने ४१.४५ किलोमिटर र जामुने–पोखरा ३८.८८ किलोमिटर। तीमध्ये दुई खण्ड आँबुखैरेनी–जामुने र जामुने–पोखरा खण्डको निर्माण सुरु भई सम्पन्न हुने चरणमा पुगिसकेको छ।  

आँबुखैरेनी–जामुने सडक विस्तार गर्न २०७७ माघ ८ गते चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन र सडक विभागबीच सम्झौता भएको थियो। २०७८ वैशाख २ गतेभित्र सम्पन्न गर्ने गरी ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा ठेक्का लागेको हो। 

मुग्लिङ–पोखरा सडक योजना, पूर्वी खण्डका प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार आँबुखैरनी–जामुने खण्डको भौगित प्रगति ८५ प्रतिशत छ। कालोपत्र सकेर अहिले सडक सुरक्षा, नदी नियन्त्रण, पहुँच सडक र पहिरो नियन्त्रणको काम हुँदै छ। मौसमले साथ दिए दशैँअघि आँबुखैरेनी–जामुने खण्डको सम्पूर्ण काम सकिने भण्डारीले बताए। 

यस खण्डका लागि पछिल्लो पटक थप गरेको म्याद २०८२ असारसम्म सकिएको छ। हाल म्याद थपको प्रक्रियामा छ। 

पूर्वी खण्डको तुलनामा पश्चिमी खण्ड जामुने–पोखराको भौतिक प्रगति तुलनात्मक रुपमा कम छ। हाल भौतिक प्रगति ५५ प्रतिशत रहेको मुग्लिङ–पोखरा सडक योजना, पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए। 

यानहुई काइयुअन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा जामुने–पोखरा खण्ड निर्माणको जिम्मा पाएको हो। 

यस खण्डको ठेक्का सम्झौता २०७८ जेठ ८ मा भएको हो। निर्माण सुरु भने २०७८ भदौ १३ गतेबाट भएको हो। यो सडक २०८२ पुस १६ सम्म निर्माण गर्ने म्याद छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad