नेपाल निर्जीवन बिमा व्यवसायी संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको बिमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन्।
प्रभु इन्स्योरेन्सको ३० औँ बार्षिक उत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले नीतिगत सुधारसँगै बिमा क्षेत्रलाई प्रविधियुक्त र सेवामुखी बनाउनुपर्ने बताएका हुन्।
'अबको बिमा प्रविधिसँग जोडिनुपर्छ, यसले पारदर्शिता र सेवा प्रभावकारिता दुवैमा सुधार ल्याउँछ' उनले भने। नेपालको बिमा क्षेत्र दिनप्रतिदिन सुदृढ बन्दै गएको र आगामी दिनमा यो क्षेत्रलाई पूर्ण प्रविधिमैत्री बनाउन सके वित्तीय पारदर्शिता समेत कायम हुने उनको भनाइ छ।
प्रभु इन्स्योरेन्सका अध्यक्षसमेत रहेका अध्यक्ष मल्लले कम्पनीका तर्फबाट आर्थिक वर्ष २०८१-८२ का लागि १८ प्रतिशत बोनस घोषणा गरेको बताएका छन्।
उनले बिमितहरूप्रति अझ जिम्मेवार हुँदै आगामी दिनमा द्रुत र समयमै दाबी भुक्तानी गर्न प्रतिबद्ध रहेको समेत बताए। 'बिमा भनेको पीडा, विपद् र जोखिमका समयमा सेवा गर्ने क्षेत्र हो । हामीले जनतालाई यो विश्वास दिलाउनु समेत जरुरी छ।'
अध्यक्ष मल्लले बिमा क्षेत्रलाई मजबुत बनाउन निजी तथा सरकारी क्षेत्र दुई सिक्काका दुई पाटा जस्तै सँगै अघि बढ्नुपर्ने आवश्यकतामा समेत जोड दिएका छन्।
Shares

प्रतिक्रिया