कारोबार


विद्युत् समस्या समाधान गर्न फिल्डमा निस्किए हितेन्द्र, चितवन हुँदै जनकपुरसम्म पुग्ने

विद्युत् समस्या समाधान गर्न फिल्डमा निस्किए हितेन्द्र, चितवन हुँदै जनकपुरसम्म पुग्ने

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८२ सोमबार १२:४३, काठमाडौँ

चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज बिहानै चितवन पुगेका छन्।

सकेसम्म आजैबाट विद्युत आपूर्ति नियमित गर्ने तयारीमा प्राधिकरणको प्राविधिक टोली खटिरहेका बेला शाक्य पनि चितवन पुगेका हुन्।

चितवनबाट प्राधिकरणले लोडसेडिङ सुरु गरेको विभिन्न खाले हल्ला चलाइरहेका बेला शाक्य आफैँ त्यहाँको समस्या बुझ्न, तत्काल समाधान गर्न र आफ्ना कर्मचारीलाई छिटो काम सम्पन्न गर्न प्रोत्साहनका लागि फिल्डमै पुगेका हुन्।

‘चनौली शाखामा देखिएको समस्या समाधानका लागि मर्मत कार्य जारी छ’, सोमबार चितवनमा शाक्यले भने, ‘प्राविधिक समस्यालाई जति सक्दो छिटो सम्पन्न गरेर नियमित विद्युत आपूर्तिको व्यवस्था गर्नका लागि म अहिले चितवन आइपुगेको छु।’ 

उनले चितवन पुगेर त्यहाँको प्राविधिक समस्याहरुलाई बुझ्ने, छिटो समाधानको उपाय खोज्नेलगायतका काममा खटिरहेको पनि जानकारी दिए।

बिहान चितवन पुगेका उनले टिमका साथीहरुसँग पनि यहाँका बारेमा थप जानकारी लिइरहेको बताए। 

उनले भने, ‘आज बेलुकासम्ममा चुनौलीको समस्या समाधान हुनेमा आशावादी छौँ। भोलिबाट नियमित विद्युत आपूर्तिको अवस्थामा पुग्छौँ।’

निरन्तरको वर्षाको समेत पर्वाह नगरी प्राधिकरणका प्राविधिक टोली काममा रातभर पनि खटिरहेको भन्दै उहाँले जति सक्दो छिटो समाधान हुनेमा आशावादी रहेको बताए।

‘प्राविधिक साथीहरु रातभर पनि काममा खटिइरहनुभएको छ। चनौली, हर्दीलगायतका ठाउँमा देखिएको समस्या हामी जतिसक्दो छिटो समाधान गर्छौँ’, उनले भने, ‘आजै भरतपुर वितरण केन्द्रको निरीक्षण गरेर त्यहाँ देखिएका केही समस्याका बारेमा पनि छलफल भएको छ । अब चनौलीपछि जनकपुरसम्म जाने तयारी छ।’ 

उनले मधेश प्रदेशको जनकपुरलगायतसम्म पुगेर त्यहाँको डिप बोरिङ जडानका लागि के भैरहेको छ र त्यसले विद्युत आपूर्तिमा के–कस्तो प्राविधिक समस्याहरु देखिन सक्छ भन्नेलगायतका विषयमा पनि अनुगमन गर्ने र बुझ्ने तयारीमा रहेको जानकारी दिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरिसकेका छन्।  

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत जडानको काम ससकेर नयाँ ट्रान्फर्मर चार्ज भैरहेको जानकारी दिए। उनले  त्यो  ट्रान्फर्मर चार्ज भइसकेपछि सोमबार नै लोड सार्ने काम सम्पन्न हुनेर सकेकसम्म आजैबाट नियमित विद्युत आपूर्ति हुनेमा आशावादी रहेको बताए।

‘चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३/११ केभी सवस्टेशनमा न्यु भरतपुर बसेनी सवस्टेशनबाट आउने ३३ केभी लाइनमाको बाटो साँघुरो भएको र अत्याधिक लोडका कारण समस्या सिर्जना भएको हो,’ उनले भने, ‘यो समस्या सकेसम्म आजै समाधान गर्छौ । त्यसका लागि हाम्रो टोली रातभरी खटेर भए पनि समाधानको प्रयासमा निरन्तर लागेको छ ।’ 

चनौली वितरण केन्द्रको क्षमता ३०० सय  एम्पिएरसम्मको क्षमता भए पनि विद्युत माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत्  प्रवाह हुँदा लोड धान्न नसकेको प्राधिकरणले जानकारी दिएको छ ।  

वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्याधिक मात्रामा बढेको सिंचाई लोड व्यवस्थापनका लागि विद्युत लाइन तथा ट्रान्सफर्मरहरु बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अबरुद्ध भएपछि चनौलीको लोडलाई नजिकैको सवस्टेशनमा सारेर ओभरलोडिङको समस्या समाधानका लागि उपकार्यकारी निर्देशक श्रेष्ठको नेतृत्वमा प्राधिकरणको टोली चितवनमा खटिरहेको छ । 

चनौली क्षेत्रको मागलाई दीर्घकालिन व्यवस्थापन गर्नका लागि बसेनी १३२ केभी सवस्टेशनबाट चनौली सवस्टेशनसम्म नयाँ ३३ केभी लाइन निर्माणकार्य अन्तिम चरणमा रहेको र सो लाइनपछि यो समस्या दीर्घकालीन रुपमा समाधान हुने पनि प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad