कारोबार


मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

नेपालखबर
साउन २, २०८२ शुक्रबार २०:५१, मुस्ताङ

यहाँको थासाङ गाउँपालिकास्थित थाक सातसय क्षेत्रको सामुहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ। मार्चे याक नाक कृषक समूहले बिहीबारदेखि मेला आयोजना गरेको हो।

हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा जिउँदो याक र चौँरीको रगत खाने मेला सदियौँदेखि परम्पराको रुपमा छ। प्राकृतिक उपचार पद्दति मध्येको एक मानिने चौँरीको आलो रगत खाँदा मानिसको पेट सम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ। समूद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मार्चे लेकमा मार्चे याक नाक कृषक समुहका १० वटा गोठ रहेको समुहका सदस्य सोजन हिराचनले जानकारी दिए।

हिउँदमा बेंसी र गर्मीयाममा मार्चे लेक पुर्‍याएर याक र चौँरी पालन गर्ने प्रचलन छ। मार्चे लेकमा १० घरको करिब ८०० बढी याक तथा चौँरी छन्। यहाँ थाक सात सय क्षेत्र अन्तर्गत सौरु, सिर्खुम, लार्जुङ, नाउरिकोट र ताक्लुङलगायतका याक र चौँरी कृषकहरुको गोठ रहेका छन्।

यो लेक निलगिरी हिमालको फेंदैमा अवस्थित छ। रमणीय मार्चे बुगिनमा बर्सेनि साउन महिनामा आलो रगत पिउने मेला लाग्छ। हिउँदयाममा भने बेंसी सारिएका याक र चौँरी उच्चलेकमा सार्नु अघि वैशाखमा थासाङको घट्टे खोलामा आलो रगत पिउने मेला लाग्ने गर्छ।

बर्खायाममा उच्चलेकको चरनक्षेत्रमा पर्याप्त हरियो घाँस पलाउने र उच्चलेकका याक तथा चौँरीले प्राकृतिक जडिबुटी सेवन गर्ने भएकाले रगत स्वास्थ्यवद्र्धक मानिन्छ। याक तथा चौँरीले यार्सागुम्बा, पाँच औले, निरमसी, जटामसी, सतुवा ,चिची, भोलु चिया, कुरिलो, तोरा चिची, जिम्बु र बन लसुनलगायत  वनस्पति खाने भएकाले याक र चौँरीको शरीरको रगतले ग्याष्ट्रिक, गानोगोला, दम, उच्च रक्तचाप, चिनि रोग र यौन शक्तिको क्षमतामा ह्रास देखिने समस्या समाधान गर्ने स्थानीय बताउँछन्। यसरी मेलामा रगत पिउनका लागि उल्लेख्य सङ्ख्यामा मानिसहरु आउने गरेको समुहका सदस्य सोजन हिराचनले बताए।

मार्चे बुगिन लेकमा दश दिनसम्म सो मेला सञ्चालन हुने जनाइएको छ। मेला सञ्चालन पूर्व गत बुधबार मार्चे लेकमा सामुहिक गोठ पुजा गरिएको मार्चे याक नाक कृषक समुहका अध्यक्ष बुद्ध गौचनले जानकारी दिए। यसवर्ष याक र चौँरीको आलो रगत प्रति गिलास २५० रुपैयाँमा बिक्री गरिएको छ। 

‘यसवर्ष पनि विगतकाझैँ चौँरीको रगत पिउने मेलाको सबै व्यवस्थापन गरिसकेका छौँ, आ—आफ्ना गोठहरुमा टहरा बनाएर होटल पनि चलाएका छौँ,’ अध्यक्ष गौचनले भने, ‘करिव तीन सय भन्दा बढी सर्वसाधारणको उपस्थिति हुने अनुमान गरिएको छ।’

मार्चे लेक पुग्न बेनी—जोमसोम मुख्य राजमार्गदेखि कालीगण्डकी पूर्व करिब तीनदेखि पाँच घण्टाको उकालो यात्रा गर्नुपर्छ। यहाँ सौरु र चिमाङबाट पनि आइपुग्न सकिने दुई वटा गोरेटो छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad