कारोबार


१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन समय लाग्ने

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन समय लाग्ने

नेपालखबर
असार ३०, २०८२ सोमबार १५:२७, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवामा आएको बाढी र त्यसपछि जलविद्युत् आयोजनाहरुमा भएको क्षतिबारे संसदमा जानकारी गराएका छन्। 

सोमबारको बैठकमा उनले बाढीको बढी असर रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली तथा धादिङको बूढीगण्डकी आसपासमा सामान्य रुपमा परेको जानकारी दिए। 

रसुवामा बाढीलगत्तै तटीय क्षेत्रमा बसोबास गर्नेलाई एसएमएस पठाएर सचेत गराइएको ऊर्जामन्त्री खड्काले बताए। बाढीको मूल कारण माथिल्लो क्षेत्रमा रहेको जलाधार क्षेत्रमा हिमताल विस्फोट हुनु रहेको देखिएको उनले बताए। 

उनका अनुसार बाढीका कारण त्रिशूली नदी करिडोरका केही महत्त्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण पूर्वाधारमा क्षति पुगेको छ। जसका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ।

क्षति पुगेका आयोजनाहरुमा १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाटको चिलिमे जलविद्युत्, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रिए, २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र, १४ मेगावाट क्षमता रहेको देवीघाट जलविद्युत् केन्द्र, ४.३ मेगावाट क्षमताको अपर मैलुङ जलविद्युत् आयोजना, ११ मेगावाट क्षमता रहेको सूर्यकुण्ड जलविद्युत् आयोजना, ५ मेगावाट क्षमता रहेको बुद्धभूमि जलविद्युत् आयोजना, साथै २२२ र १३२÷१३३ केभी क्षमताको त्रिशूली थ्रिबी हबको सबस्टेसन समेत प्रभावित भएको उनले बताए। 

क्षतिमा उल्लिखित योजनाहरुमध्ये चिलिमे, त्रिशूली, देवीघाट, सूर्यकुण्ड, बुद्धभूमिलगायतका कुल ७५ मेगावाट क्षमताबराबरका आयोजना सञ्चालनमा ल्याइसकिएको समेत उनले बताए। 

त्यस्तै १४.३ मेगावाट क्षमताको अपर मैलुङ पनि दुई दिनभित्र सञ्चालनमा ल्याइने उल्लेख गरे। ६० मेवा क्षमताको माथिल्लो त्रिशूली ए दुई हप्ताभित्र सञ्चालनमा आउने उनले जानकारी दिए। 

सबैभन्दा बढी क्षति भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन केही समय लाग्ने उनको भनाइ छ। 

हाल बाढीको वहाव घट्दो क्रममा देखिए पनि जोखिम यथावत् रहेको जल तथा मौसम विज्ञान विभागबाट जानकारी आएको उनले बताए। विभागले यसको निरन्तर अनुगमन गरिरहेको समेत उनले बताए। यसबारे विस्तृत अध्ययन समेत अगाडि बढाइएको उनको भनाइ छ। 

हिमतालजन्य बाढीहरु जलवायु परिवर्तनको असरस्वरुप आगामी दिनमा अझै चुनौतीपूर्ण बन्ने सम्भावना रहने पनि उनले उल्लेख गरे। यस्ता हिमतालको जोखिम मूल्यांकन तथा अनुगमनलाई संस्थागत बनाउनुपर्ने देखिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad