प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धितोपत्र बोर्डका विवादित अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेतृत्व गरेपछि बोर्डमा असामान्य गतिविधि भइरहेको बताएका छन्।
सोमबार संसद् बैठकमा बोल्दै उनले सुशासन कायम गर्न सक्षम देखेका संस्थाहरुलाई समेत सरकारले दलाल र बिचौलियाको तजबिजीमा लगेको स्पष्ट देखिएको बताएका हुन्।
उनको सिधा संकेत नै धितोपत्र बोर्डतर्फ देखिएको छ। सुशासन कायम गर्न सक्ने बोर्डजस्ता संस्थाहरुलाई सरकारले दलाल र बिचौलियाको तजबिजीमा लगेको प्रचण्डको आरोप छ।
‘अहिले आएर एकपछि अर्को गरी सुशासन कायम गर्न सक्षम देखेका संस्थाहरुलाई दलाल र बिचौलियाको तजबिजमा लगेको स्पष्ट देखिएको छ’, उनले भने, ‘यस्ता संस्थाहरुको प्रमुखको नियुक्तिमा भएको चलखेल, हाकाहाकी भएको कमिसनको डिल र बिचौलियाकै इसारामा अघि बढाइएका कार्यहरुबाट यो सरकारको उद्देश्य र चरित्र आमजनतामा अझ स्पष्ट हुन गएको छ।’
उनले सांकेतिक रुपमा बोर्ड अध्यक्षको नियुक्ति, पछिल्लोपटक आएका सन्तोषनारायणले कम्पनीहरुको आईपीओ स्वीकृतिमा बिचौलियामार्फत कमिसन मागेको आरोपहरुजस्ता कार्यबाट सरकार बिचौलिया र दलालको इसारामा चलेको बताए।
पछिल्लोपटक धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जलाई बाँड्नलागेको लाइसेन्सतर्फ पनि उनको संकेत थियो। बोर्डले नयाँ स्टक लाइसेन्स बाँड्न लागे पनि लामो समयदेखि सकिरहेको छैन।
‘धितोपत्र बोर्डदेखि जग्गाकाण्डहरु, भुटानी शरणार्थी काण्डदेखि मेरिटोक्रेसी भत्काउनेसम्म, विद्युत् बक्यौता नतिर्नेहरुलाई चोख्याउनेदेखि भूमाफियाहरुलाई कानुनी संरक्षण गर्नेसम्म, सरुवा र नियुक्तिमा मन्त्रीहरुबाटै लाखौँका डिल भएका विषय सार्वजनिक हुँदासम्म आफैँ अध्यक्ष रहेको प्रधानमन्त्रीजीको सुशासन आयोगको हविगत के रहेछ भन्ने प्रस्ट भएन र?’, उनले सरकारलाई प्रश्न गरे।
Shares

प्रतिक्रिया