कारोबार


रसुवा बाढीले क्षतिग्रस्त संरचनाको भूगोलमैत्री पुनर्निर्माण गर्न सांसद आचार्यको माग

रसुवा बाढीले क्षतिग्रस्त संरचनाको भूगोलमैत्री पुनर्निर्माण गर्न सांसद आचार्यको माग

नेपालखबर
असार २९, २०८२ आइतबार १४:२३, काठमाडौँ

रसुवा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद मोहन आचार्यले २४ गतेको बाढी र त्यसले पुर्‍याएको क्षति मूल्यांकन गर्दै पुनर्निर्माण चाँडो गर्न र भूगोलमैत्री संरचना निर्माणलाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्। 

न्हेन्दे खोलाको बाढीले रसुवाको मितेरी पुल, रसुवागढी हाइड्रो, रसुवा भन्सार कार्यालय, यार्ड र भौतिक संरचनामा क्षति भएको भन्दै उनले ४२ ईभी, कार्गोसहितका २३ कन्टेनर ट्रक र अन्य निर्माण सामग्री बगाएको जानकारी दिए। 

‘भर्खरै सम्पन्न १११ मेवा रसुवागढी आयोजनामा ठूलो क्षति, चिलिमेको टेलरेसमा क्षति पुगेको छ, २१६ को अपर त्रिशूलीको बाँधमा क्षति पुगेको छ, माथिल्लो त्रिशूली ३ एको हेडवर्क्समा क्षति पुगेको छ, पहिरेबेसीको त्रिशूली ३बी हबमा पनि क्षति पुगेको छ’, उनले आइतबार संसदको विशेष समयमा बोल्दै भने। 

भीषण बाढीले रसुवागढी सडकमा १२०० मिटर क्षति भएको, त्रिशूली खोलाका ३ झोलुंगे पुलमा क्षति पुगेको र चीनपट्टि ११ जना र नेपालमा २० जना बेपत्ता रहेको जानकारी दिए।

‘वार्षिक ३० अर्ब बढी राजस्व संकलन हुने स्थान भयावह रहेको, हिमाली क्षेत्र भएकाले टिमुरेमा जग्गाको अभावले किनारमा भौतिक संरचना बनायौँ, सबैभन्दा बढी रसुवागढी ड्राइपोर्टमा धेरै क्षति पुगेको छ। प्राकृतिक प्रकोप आउँछन् भनेर भूगोलमैत्री संरचना बनाउनुपर्छ’, उनले भने, ‘पुननिर्माणका क्रममा यस्ता चिजलाई ख्याल गरियोस्!’

बाढीका कारण अहिले स्याप्रुदेखि टिमुरे जाने सडकमा यातायात ठप्प रहेको, कैलाश मानसरोवर जानेदेखि व्यापार व्यवसाय गर्नेसम्मलाई असर गरेको उनले बताए।

हवाइ साधन प्रयोग गरी विपद्मा गरिने उद्धार चाँडै हुने व्यवस्था मिलाउनुपर्ने उनले बताए। खासगरी उद्धार गर्ने प्रक्रिया सहजीकरण गर्नुपर्ने उनले बताए। 

‘अस्थायी सडक र बेलिब्रिज बनाउनुपर्छ। जग्गा कम र नदीले धार परिवर्तन गरेको छ। त्यसलाई प्रतिरोध गर्ने संरचना बनाउनुपर्छ’, उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad