कारोबार


स्तरोन्नतिपछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणका लागि विश्व समुदायसँग चन्द्र ढकालको आग्रह

स्तरोन्नतिपछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणका लागि विश्व समुदायसँग चन्द्र ढकालको आग्रह

नेपालखबर
असार १८, २०८२ बुधबार ११:५४, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नतिपछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणका लागि विश्व समुदायसँग आग्रह गरेका छन्।

मङ्गलबार स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा आयोजित ‘सशक्तीकरणका लागि लचिलोपनः दिगो एलडिसी स्तरोन्नतिका  लागि जलवायु–स्मार्ट वित्तीयकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्।

अध्यक्ष ढकालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने विषय नेपालका लागि उपलब्धिसँगै चुनौतीपूर्ण रहेको पनि बताए। उनले नेपालको एलडिसी स्तरोन्नतिका लागि तीन मापदण्डमध्ये दुई वटा पूरा भएको भए पनि प्रतिव्यक्ति आय स्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उल्लेख गरे।

नेपालको वित्तीय आवश्यकता ठूलो र बढ्दो क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसका लागि विश्वसमुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गरे।

“सरकारको राष्ट्रिय अनुकूलन योजनाले सन् २०५० सम्म जलवायु अनुकूलनका लागि करिब ४७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ, जुन वार्षिक रूपमा लगभग १.३ अर्ब डलर हो”, उनले भने, “साथै, दिगो विकास लक्ष्यहरू प्राप्त गर्न नेपालले प्रत्येक वर्ष जीडीपीको करिब ११ प्रतिशतको वित्तीय अन्तरको सामना गरिरहेको छ।”
 
एलडीसी स्तरोन्नतिले अन्तरराष्ट्रिय समर्थनको अन्त्य नभई नयाँ प्रकारको साझेदारीको सुरुवात हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले नेपालजस्ता देशहरूलाई आर्थिक लचिलोपन निर्माण गर्न, स्वच्छ ऊर्जामा लगानी गर्न तथा जलवायु परिवर्तनले निम्त्याउने जोखिमहरू कम गर्ने दिशामा सहयोग गर्न विश्व समुदायलाई आग्रह गरे। 

उनले यसका लागि आवश्यक सहयोग र सहकार्यका लागि नेपालको निजी क्षेत्रको छाता संस्थाको तर्फबाट आफूहरु तयार रहेको समेत बताए। कार्यक्रममा विश्वभरका नीति निर्माता, विकास साझेदार, निजी क्षेत्रका नेताहरू र विशेषज्ञहरूसँग एलडिसीहरूमा जलवायु लचिलोपन र दिगो विकासका लागि वित्तीय चुनौती र अवसरबारे छलफल भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad