कारोबार


रुपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राइ उद्योग फर्स्ट च्वाइस फुड सञ्चालनमा

रुपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राइ उद्योग फर्स्ट च्वाइस फुड सञ्चालनमा

नेपालखबर
असार ६, २०८२ शुक्रबार १९:२३, काठमाडौँ

रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राइ उद्योग फर्स्ट च्वाइस फुड सञ्चालनमा आएको छ।

गुल्मीको मदाने गाउँपालिका वडा नं ६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन्। काठमाडौंमा बिहीबार एक कार्यक्रमकाबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फर्स्ट च्वाइस फुडको उत्पादन सार्वजनिक गरे। 

आयात कम गर्ने र किसानलाई आत्मनिर्भर बनाएर अघि बढ्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याएको व्यवसायी पौडेलले बताए। अहिले वर्षको २ हजार टन उत्पादन गर्नेगरी उत्पादन भइरहेको र हरेक वर्ष बढाउँदै जाने लक्ष्य रहेको सञ्चालक पौडेलले जानकारी दिए। 

५ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकारमात्रै उत्पादन गर्नेछ। त्यसैले १० हजार किसान उद्योगसँग जोडिएको र उनीहरूको उत्पादन आफ्नो उद्योगले किनिरहेको पौडेलले बताए। 

उनकाअनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ। प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जतिले उद्योगमा काम गरिरहेका छन्। अमेरिका, दुबई, साउदी अरब लगायतका तेस्रो मुलुकमा निर्यात गर्ने तयारीमा रहेको बताए। 

नेपाललाई फ्रेन्च फ्राइजमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताए। यसले कृषिको व्यवसायिककरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। अहिले भारतमा उद्योगले भारतमा निर्यात गरिरहेको र मलेसिया, युएई र साउदी अरेबियामा निर्यात गर्ने तयारीमा रहेको पनि पौडेलले जानकारी  दिए। 

उद्योगका अहिले काठमाडौं, धरान, नेपालगञ्ज र दाङ गरी ५ ठाउँमा डिलर छन् भने देशभर ४ सय वटा रेष्टुरेष्ट पनि छन्। कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निष्ठा र मेहनतका साथ काम गरेको खण्डमा जो कोहीले पनि चमत्कार गर्नसक्ने जिकिर गरे। विदेशबाट खालि हात स्वदेश फर्किएका कृष्ण पौडेलको जीवन्त उदाहरण हेर्दा यसबारे स्पष्ट हुने उनको भनाइ छ। आलुको आयात प्रतिष्थापन गरेर स्वदेशमा रोजगारी सिर्जना गर्न सकिने बताए। 

उनले भने, ‘एउटा निष्ठाका साथ र मेहनतका साथ र योजनाका साथमा लागिरह्यो भने हर कसैले चमत्कार गर्नसक्छ। यसको जीवन्त उदाहरण कृष्ण पौडेलजी र उहाँको कम्पनी हो। रित्तो हात लिएर स्वदेश फर्किनुभएको युवाले स्वदेशमै भविष्य खोज्छ र रोजगारी सिर्जना गर्दछ। आलुको आयात प्रतिष्थापन गर्नसक्ने काम आज उहाँले गर्नुभएको छ।’

कार्यक्रममा बोल्दै सांसद वासुदेव घिमिरेले बीउ वृद्धिका कार्यक्रमहरुमा सरकारले सहयोग गर्नुपर्ने बताए। उनले आलुको बीउ वृद्धि कार्यक्रमलाई सरकारले पूर्ण रुपमा सहयोग गरेमात्रै उत्पादन फस्टाउने र किसानलाई सहयोग हुने बताए। 

उनले भने, ‘बीउ वृद्धिका कार्यक्रमहरु राम्रोसँग गर्न सकेका छैनौँ। अझै हामीलाई चाहिने आलुको बीउ वृद्धि कार्यक्रमलाई सरकारले पूर्ण रुपमा सहयोग गर्नुपर्छ। केही समय लाग्छ। सामान्य इन्स्योरेन्समा मात्रै अनुदान दिएर मात्रै पुग्दैन। सम्मानजनक बीउ वृद्धिमा सहयोग गर्नुपर्छ। समयमै नेपाली उद्योगलाई प्रवर्द्धन गर्न सरकारको तर्फबाट भरपुर सहयोग गर्नुपर्छ।’

उनले समयमै नेपाली उद्योगलाई प्रवर्द्धन गर्न सरकारको तर्फबाट भरपुर सहयोग गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad