यात्रुले जामको सास्ती भोग्दै आएको ललितपुरको ग्वार्को चोकमा अब सहज यात्रा हुनेछ।
२०७५ मा ८ लेन तयार भएको चक्रपथ सडकको सो खण्डमा २०७९ बाट ओभरपासको अभाव खट्किरहेको थियो।
अब यही असार ६ गतेबाट चक्रपथमा गुड्ने गाडी ग्वार्कोमा रोकिनुपर्दैन। ओभरपासको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन्।
ओभरपास सञ्चालनमा आएसँगै चक्रपथको बीचको ४ लेनको मुख्य सडकमा ट्राफिक जाम हुनेछैन। रिङरोडमा घुम्ने सवारी अब ग्वार्को चोकमा रोकिनुपर्नेछैन। सबै प्रकारका गाडी ओभरपास हुँदै जानेछन्।
८ लेनको सडकमा छेउबाट जानको लागि साइड ट्रयाक र सर्भिस लेनको छुट्टै व्यवस्था छ। उक्त सडकबाट क्रस हुने सवारी साधनलाई ट्राफिक लाइटको सहयोगमा पास गराइनेछ।

इमाडोलबाट मंगलबजार प्रवेश गर्ने सडकमा कम्तीमा पनि ५० प्रतिशत समय बचत हुने अनुमान छ। ट्राफिक लाइटको सहायतामा सवारीसाधन गुड्नेछन्।
१४ महिनामा निर्माण सक्ने लक्ष्य राखिए पनि प्राविधिक समस्या आउँदा निर्धारित समयमा ओभरपास निर्माण हुन सकेन। गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सिनियर डिभिजनल इन्जिनियर प्रदीप भण्डारीले पहिलोपटक ईपीसी मोडलमा निर्माण भएकाले केही समय लम्बिएको बताए।

‘आयोजना ईपीसी मोडलमा ठेक्का लगाएका थियौँ’, भण्डारीले भने, ‘निर्माण कम्पनीले नै डिजाइन गर्ने, सुपरिवेक्षण गर्ने, निर्माण पनि आफैँ गर्ने मोडालिटीमा अघि बढेको थियो। निर्माण कम्पनीले सुरुमा पेस गेरका डिजाइनमा केही समस्या देखिएकाले ढिलाइ भयो।’
निर्माणको ९० प्रतिशत सकिँदा एमएसी वालको एउटा भागमा समस्या देखिएको थियो। त्यसमा केही भाग भत्काएर बनाउनुपर्दा समय लम्बिएको उनले बताए।
निर्माण समय लम्बिँदा यात्रुलाई सास्ती भए पनि लागत भने नबढेको उनको भनाइ छ।
२०७९ पुसबाट ओभरपास निर्माण सुरु भए पनि डिजाइनमै त्रुटि हुँदा यात्रुलाई सास्ती र निर्माण कम्पनीको लागत बढ्यो। निर्माण सुरु भएको १ महिनामै ओभरपासको डिजाइन परिवर्तन गर्नुपरेको थियो।
‘ईपीसी मोडलमा निर्माण भएकाले सरकारी लागत बढ्दैन। समयमै निर्माण नसक्दा पुसयता हामीले कम्पनीसँग हर्जना लिएका छौँ’, उनले थपे, ‘यात्रुलाई अप्ठ्यारो परे पनि सरकारलाई आर्थिक भार बढेको छैन।’
रिङरोडमा गुड्ने सबै किसिमका सवारीसाधन ओभरपासमा गुड्न पाउँछन्। ठूला सवारीसाधन हिँड्दा पनि भार थेग्न सक्छ। पुलको डिजाइन गर्दा भार थेग्ने गरी बनाइएको हुन्छ। त्यसरी नै ग्वार्को ओभरपास निर्माण गर्दा सबै किसिमका सवारीसाधन गुड्न पाउँछन्।

ईपीसी मोडलको पहिलो परियोजना, के सिकियो?
सडक विभागका अधिकारीहरुले ग्वार्को ओभरपास ईपीसी मोडलबाट गरिएको पहिलो परियोजना बताएका छन्।
‘नेपालमा सडक विभागअन्तर्गत पहिलोपटक भनिएको छ। टेन्डर आह्वान गर्दा नै केही फरक गर्नुपर्ने ज्ञान प्राप्त भएको छ’, भण्डारीले भने, ‘अब ईपीसी मोडलमा नयाँ आयोजना निर्माण गर्दा केही व्यवस्था थप गर्नुपर्नेछ।’
एमएसी वाल उठाउँदा सानो गल्तीले बढी समय लागेकाले माटो परीक्षणलगायतमा ध्यान दिनुपर्ने अवस्था रहेको, वाल उठाएर ओभरपास निर्माण गर्दा माटोको समेत अध्ययन गर्नुपर्ने विभागको भनाइ छ।
पिल्लरवाला ओभरपासको तुलनामा वाल उठाउँदा सस्तो संरचना भए पनि निर्माणअघि थप ध्यान दिनुपर्ने अवस्था रहेको सिनियर डिभिजनल इन्जिनियर भण्डारी बताउँछन्।
‘कुन ठाउँमा कस्तो पूर्वाधार बनाउने भन्ने विषय भौगोलिक अवस्थाअनुसार फरक हुन्छ’, उनले भने, ‘कलंकीमा अन्डरपास बनाउनु उपयुक्त थियो। ग्वार्कोमा मुनि दबाएको भए समस्या हुन सक्थ्यो। माथि पूर्वाधार बनाउँदा उपयुक्त भएको छ।’
सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सुपरिटेन्डेन्ट इन्जिनियर दीप बाराहीले सडक विभागले सिद्धबाबा सुरुङमार्ग र ग्वार्को ओभरपास मात्रै ईपीसी मोडलमा निर्माण भइरहेको बताए।
‘बुटवलको सिद्धबाबा सुरुङमार्ग ईपीसी मोडलमै बनिरहेको छ। सडकतर्फ ग्वार्को ओभरपास पहिलो पटक सकिँदै छ’, बाराहीले नेपालखबरसँग भने, ‘निर्माणको क्रममा इन्जिनियरिङ चुनौतीबाहेक ट्राफिक व्यवस्थापनको विषयमा सिकाइ भएको छ।’
उनले पूर्वाधार निर्माण पनि गरिरहने तर सवारीसाधन पनि गुडिरहनुपर्ने भएकाले यसको व्यवस्थापनको विषयमा पूर्वतयारी गरेर निर्माण सुरु गर्नुपर्ने सिकाइ भएको बताए।

ओभरपासको मध्यभागमा ‘डिभाइडर’ राख्ने र केही सामान्य कामहरू बाँकी रहेकाले यथाशीघ्र सञ्चालनमा आउने उनको विश्वास छ। आरसी, समानान्तर र रिलेग्रे निर्माण कम्पनीले संयुक्त रूपमा ओभरपास निर्माण गरिरहेका छन्।

यसको कुल लागत १७ करोड ६ लाख रुपैयाँ छ।








तस्बिर/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया