कारोबार


बंगलादेशमा बिजुली बेच्दा नेपाललाई ५ महिनामा १ अर्ब २५ करोड आम्दानी हुन्छ : ऊर्जामन्त्री खड्का

बंगलादेशमा बिजुली बेच्दा नेपाललाई ५ महिनामा १ अर्ब २५ करोड आम्दानी हुन्छ : ऊर्जामन्त्री खड्का

नेपालखबर
असार १, २०८२ आइतबार १८:२१, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले बंगलादेशमा विद्युत् व्यापारबाट १ अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताएका छन्। 

ऊर्जा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात गरी मासिक २५ करोडभन्दा बढी आम्दानी गरी पाँच महिनामा एक अर्ब २५ करोडभन्दा बढी आम्दानी हुने बताएका हुन्।

दक्षिण एसियाबाट तेस्रो मुलुक विजुली निर्यात गर्ने पहिलो देश नेपाल भएको र बंगलादेशसँग पहिलो पटक विद्युत ब्यवसायिक रुपमा विक्री सुरु हुनु देश र जनताको लागि निकै गर्व र खुसीको कुरा भएको मन्त्री खड्का भनाइ छ। ऊर्जा क्षेत्रबाटै समृद्दी हासिल हुने भन्दै मन्त्री खड्काले १० बर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी भारतलाई १० हजार र बंगलादेशलाई ५ हजार मेगावाट निर्यात गरेर आर्थिक रुपमा समृद्धि हासिल गरिने बताए।

नेपाल विद्युत प्राधिकरणले गएराति (असार १ अर्थात जून १५) १२ बजेबाट भारतीय प्रसारणलाइन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात गरेको थियो। गत वर्ष कात्तिक ३० (नोभेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि भारतीय प्रसारणलाइन हुँदै बंगलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष गएराति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो।

गत वर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत विक्रि सम्झौतामा हस्ताक्षर भएको थियो। 

पत्रकार सम्मेलनमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल ऊर्जा ब्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र बंगलादेशमा बिजुली निर्यात गरी अर्बौँ आम्दानी गर्ने बताए।

उनले भने, "अहिले लोडसेडिङ छैन र हुँदैन पनि । उत्पादित विजुली बढी भएरै बिक्री सुरु गरिएको भन्दै ट्रिपिङको समस्या कहिलेकाँही देखिएर झ्याप झ्याप बत्ति जाने गरेपनि यसलाई हटाउदै लगिएको छ।"

विगतका वर्षहरुमा पनि प्राविधिक कारणले ट्रिपिङको समस्या रहेको र गतबर्ष भन्दा अहिले क्रमश कम हुँदै गएकोले लोडेसेडिङ भन्ने भ्रम नपाल्न उनले आग्रह समेत गरे। 

आइतबार अर्थात् आजदेखि बङ्गलादेशमा निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म बिक्री गरिनेछ। पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ।

उक्त विद्युत नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ। त्यस्तै नेपालले जून १ देखि हरियाणा राज्यमा १ सय ८५ मेगावाट विद्युत निर्यात गर्दै आएकोमा आइतबार अर्थात् जून १५ बाट बढाएर २ सय मेगावाट बिक्री गरेको छ। त्यस्तै विहारमा पनि ८० मेगावाट विद्युत आइतबाटै निर्यात सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad