कारोबार


‘अन्तर्राष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

‘अन्तर्राष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

नेपालखबर
जेठ २५, २०८२ आइतबार २०:५२, काठमाडौँ

हिमालय क्षेत्रका देशबीच बलियो सहकार्यका साथै अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट’ बलियो आधार बनेको छ। यहाँ पर्यटन क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेलाका रूपमा स्थापित मार्टको पाँचौँ संस्करण हालै काठमाडौँमा सम्पन्न भएको छ। 

यही जेठ २० देखि २२ सम्म भएको मार्टले अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धन, सहकार्य र दिगो पर्यटन विकासका लागि नयाँ मापदण्डसमेत स्थापित गरेको आयोजक प्यासिफिक ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ।

मार्टको पाँचौ संस्करणमा विश्वका ३० मुलुकबाट १०० भन्दा बढी अन्तरराष्ट्रिय सहभागी र नेपाली पर्यटन क्षेत्रका प्रतिनिधि तथा सरोकार भएकाहरूसहित ७०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो।

‘माउन्टेन, माइलस्टोन्स एण्ड मोमेण्टम’ भन्ने मूल नाराका साथ पाटा नेपाल च्याप्टरको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित मार्ट दिगो पर्यटन वृद्धिका लागि अन्तरराष्ट्रिय पर्यटन सहकार्य प्रवर्द्धनमा फलदायी भएको पाटाले उल्लेख गरेको छ।

मार्टले अन्तरराष्ट्रिय क्रेता, बिक्रेता, सञ्चारकर्मी,  पर्यटनव्यवसायी, नीतिनिर्माता र सरोकार भएकाहरूको उत्साहजनक सहभागिताले मार्टलाई हिमाली क्षेत्रकै प्रमुख ट्राभल ट्रेड प्लेटफर्मको रूपमा हिचान गराउँदै नेपाललाई ‘गेटवे टु द हिमालय’को रूपमा स्थापित गर्न सशक्त भूमिका खेलेको विज्ञप्तिमा जनाइएको छ।

नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका साझेदारको सहकार्य र सहयोगमा आयोजित मार्टमा व्यावसायिक अन्तरक्रिया, ज्ञान आदानप्रदान सत्र, नेटवर्किङ, गन्तव्य अवलोकन भ्रमण, र सांस्कृतिक कार्यक्रमलगायत प्रस्तुत गरिएका थिए। 

मार्टको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई ‘गेटवे टु द हिमालय’ को रूपमा परिचित गराउँदै पाटा नेपालको स्वर्ण जयन्ती र माउण्ट अन्नपूर्णाको पहिलो सफल आरोहणको ७५औँ वार्षिकोत्सव जस्ता दुई ऐतिहासिक उपलब्धिको चर्चा गरे। उनले दिगो, समावेशी र लचिलो पर्यटन भविष्य निर्माणका लागि सरकारको प्रतिबद्धता र सार्वजनिक–निजी साझेदारी तथा विश्वव्यापी सहकार्यको आवश्यकता औँल्याए।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको दिगो पर्यटन दृष्टिकोण र अन्तरराष्ट्रिय पर्यटकका लागि नयाँ परिपथ र विशेष अनुभव विकास गर्ने योजना प्रस्तुत गरे। पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लाकाईंले नेपाललाई वर्षभर भ्रमणयोग्य गन्तव्यको रूपमा प्रवर्द्धन गर्न सकिने र सो स्थापित गर्नका लागि क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याए।

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले ‘हिमाल, उपलब्धि र गति’ भन्ने मूल विषयमा आधारित रहेर विशेष वक्ताको रूपमा सम्बोधन गर्दैै नेपालको पर्यटन विकासका आधारबारे प्रष्ट पारेका थिए।

कार्यक्रममा सहभागी विदेशी पाहुनालाई परिचयात्मक भ्रमण गराइएको थियो। उनीहरूले काठमाडौँ, चितवन, पोखरा, पनौती, र धुलिखेलजस्ता गन्तव्यमा पुगेर नेपालका विविध अनुभव अवलोकन गर्नुका साथै भ्रमणबाट नेपालको सांस्कृतिक सम्पदा, वन्यजन्तु, सामुदायिक पर्यटन, साहसिक, स्वास्थ्य र अध्यात्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको पाटा नेपालका सिइओ सुरेशसिंह बुडालले बताए।

उनका अनुसार बीटुबी कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्लेषकले आध्यात्मिक, साहसिक, विलासी पर्यटन, सांस्कृतिक बौद्धिकता र समझदारी, दिगोपन, बजार प्रवृत्ति र विश्वपर्यटनको उदाउँदो अवसरबारे विचार आदान प्रदान गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad