कारोबार


रासायनिक मलको अनुदानका लागि बजेट अपुग छः मन्त्री अधिकारी

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छः मन्त्री अधिकारी

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८२ आइतबार १८:३५, काठमाडौँ

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका लागि बजेट अपुग भएको बताएका छन्।

राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आइतबार आयोजना गरेको रासायनिक मलको सहज व्यवस्थापन विषयको बैठकका क्रममा मन्त्री अधिकारीले बजेट नपुगेकै कारण मलको समस्या समाधान हुन नसकेको बताए। अनुदान बजेट अनुसारको मल भने समयमै ल्याएर डिपोसम्म पुर्‍याउने काम मन्त्रालयले गरिरहेको उनको भनाइ थियो। 

‘यसअघि मन्त्रालयले सार्वजनिक गरेको पाँच वर्षे कृषि अनुदानमा रु पाँच खर्ब एक अर्ब बजेटमध्ये रासायनिक मलको अनुदानमा ८७ अर्ब खर्च भएको रहेछ, त्यसपछिको अनुदान पनि कुनकुन विषयमा कसकसले कतिकति लगे तथ्यांक संकलनको काम भइरहेको छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र यसअन्तर्गत वितरण भएको अनुदानको विवरण सार्वजनिक हुन्छ,’ मन्त्री अधिकारीले भने।

परियोजनाले पैसा नभई उपकरण खरिद गरेर अनुदान दिने गरेको मन्त्री अधिकारीले बैठकमा जानकारी गराए। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दुई वर्षदेखि कार्यकारी निर्देशक पद रिक्त रहेकामा हालै नियुक्त गरी पठाएको उनले बताए। विषादी नियन्त्रणका लागि मन्त्रालयले सरोकार भएका निकायसँग छलफल गरी अघि बढेको उनले बैठकमा जानकारी गराए।
 

समितिका सभापति कमला पन्तले रासायनिक मलका बारेमा बेला बेलामा गुनासो आउने गरेकाले मन्त्रीसहित मन्त्रालयका अधिकारी बोलाएर छलफल गरिएको जानकारी गराए। प्रदेश र स्थानीय सरकारलाई पनि रासायनिक मलसँग सम्बन्धित विषयमा समस्या नआउने गरी काम गर्न निर्देशन दिएको उनले बताए।

बैठकमा सांसदहरु कृष्णप्रसाद पौडेल, अञ्जान शाक्य, उर्मिला अर्याल, घनश्याम रिजाल, जीतजङ्ग बस्नेत, झक्कुप्रसाद सुवेदी, वामदेव गौतम, नारायणदत्त भट्ट, पूजा चौधरी, सावित्री मल्ललगायतले रासायनिक मल अभावमा देखिएको समस्या समाधान गर्नुपर्ने, उत्पादित कृषि सामग्रीको सहज बजार व्यवस्थापन हुनुपर्ने, प्रजातान्त्रिक समाजवाद कार्यान्वयन गराउनुपर्नेलगायत विषयमा मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए।

मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले रासायनिक मल आयातमा खरिद कानुनका कारण ढिलाइ हुने गरेकाले त्यसको संशोधन प्रक्रिया अघि बढेको उल्लेख गर्दै कार्यविधि संशोधन अन्तिम चरणमा पुगेको जानकारी गराए। संघीय सरकारबाट रासायनिक मल आयातमा समस्या नभई डिपोसम्म सहजरुपमा पुगेको र डिपोबाट वितरणको जिम्मा प्रदेश एवं स्थानीय सरकारबाट हुने गरेको उनले जानकारी दिए। 

मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले रासायनिक मल आयातका लागि अनुदान बजेट अभाव भएको बताए। रासायनिक मल पाउने किसान को हो भन्ने सुनिश्चित गर्न वडालाई जिम्मा दिनुपर्ने उनको भनाइ थियो।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad