कारोबार


सरकारले हटायो घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट देखाउनुपर्ने व्यवस्था

सरकारले हटायो घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट देखाउनुपर्ने व्यवस्था

नेपालखबर
जेठ २५, २०८२ आइतबार १३:४५, काठमाडौँ

सरकारले घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट देखाउनुपर्ने व्यवस्था हटाएको छ। 

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनमा बैंक स्टेटमेन्टसँगै राजस्व खातामा दाखिला गर्नुपर्ने र बैनाबट्टाको कागजमा खुलाउनुपर्ने व्यवस्था हटाएको हो। 

घरजग्गा व्यवसायीहरुको दबाबमा प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार भूमि व्यवस्था तथा अभिलेख विभागले संशोधन गरेको हो। 

योसँगै घरजग्गा खरिदबिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखितसाथ संलग्न गर्नुपर्ने व्यवस्था हटाइएको छ। 

त्यस्तै राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था समेत हटाइएको छ। बैंकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा १० लाखभन्दा बढीको घरजग्गा खरिदबिक्रीको कारोबार गर्दा लाग्ने रजिस्ट्रेसनबापतको शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट सम्बन्धित कार्यालयले राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था विभागले हटाएको छ। 

बैनाबट्टा कागजमा खुलाउनुपर्ने व्यवस्था समेत खारेज गरिएको छ। घरजग्गा खरिदबिक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेस गरेमा १० लाख रुपैयाँभन्दा बढीको बैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ वा विद्युतीय कारोबार प्रणालीमार्फत लेनदेन भएको विवरण बैनबट्टाको कागसाथ पेस गर्नुपर्नेछ। 

जेठ १३ गते जारी भएको निर्देशिकामा घरजग्गा खरिदबिक्रीको कारोबार गर्दा १० लाख रुपैयाँदेखि माथि ५० लाखसम्मको कारोबार बैंकिङ्ग प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत हुने व्यवस्था थियो। 

तर ५० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने उल्लेख थियो।

संशोधित निर्देशिकामा १० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको घरजग्गाको खरिदबिक्रीसम्बन्धी कारोबारमा जुनसुकै प्रकारको भुक्तानी बैंकिङ उपकरणमार्फत गरी सोको प्रमाण पेस गर्नुपर्ने व्यवस्था यथावत् छ। 

५० लाख रुपैयाँभन्दा माथिका घरजग्गा खरिद गर्दा क्रेताले बैंकबाट भुक्तानीको लागि गुड फर पेमेन्ट चेक वा बैंक ग्यारेन्टी वा ईपेमेन्ट वा नेपाल राष्ट्र बैंकको निर्देशिकाबमोजिम तोकिएका भुक्तानीका अन्य उपकरणहरुबाट भुक्तानी भएको प्रमाण वा बिक्रेताको नाममा रहेको बैंक खातामा नगद रकम जम्मा गरेको बैंक भौचरको फोटोकपीमा खरिदकर्ता र बिक्रीकर्ता दुवैले प्रमाणित गरी पेस गर्नुपर्ने उल्लेख छ। 

त्यस्तै घरजग्गाको खरिदबिक्री गर्ने खरिदकर्ता वा बिक्रीकताले एक दिनमा एक पटक वा पटक पटक गरी ३ करोड वा सोभन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गर्दा कार्यालयले नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी पठाउनुपर्ने व्यवस्थालाई संशोधन गर्दै १ करोडसम्मको जानकारी पठाउनुपर्ने उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad