संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिले डोल्पामा निर्माण तयारीमा रहेको जगदुल्ला हाइड्रोपावरको विवादित ठेक्का अघि नबढाउन निर्देशन दिएको छ।
शुक्रबार बसेको समिति बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र जगदुल्ला हाइड्रोपावर कम्पनीलाई जगदुल्लाको ठेक्का प्रक्रिया ‘तत्काल रोक्न’ निर्देशन दिएको हो।
केही समयअघि १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावरको ठेक्कामा झूटो कागजात बनाएको आरोपमा दुई वटा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेसीई–एएनके जेभीमाथि छानविन थालेको थियो।
बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनी आएका गुनासाबारे प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ।
डोल्पाका लाप्पा शेर्पाले राष्ट्रिय महत्त्वको आयोजनामा अनियमितता भएको भनी समितिमा उजुरी दिएका छन्। छलफलमा माओवादी सांसद अमनलाल मोदीले कुनै पनि आयोजना ठेक्का प्रक्रियामा जाँदा मापदण्डमा रहेर गर्नुपर्नेमा सुरुबाटै अनियमितता भएको बताएका थिए।
उनले खरिद नियमावलीअनुसार जोडिएका विषयहरुमाथि खेलबाड गरिनुले गम्भीर प्रश्न उठेकोले यसबारे लेखा समितिले छानबिन गर्नुपर्ने बताएका थिए।
जगदुल्ला ठेक्का प्रकरण : चिनियाँ कम्पनी जेसीईले अनुभवको नक्कली कागजपत्र पेस गरेको पुष्टि
नेपाली काँग्रेस सांसद राजन केसीले पनि जालसाजी गरेर गरेर ठेक्का हत्याउन खोजेकोबारे अनुसन्धान हुनुपर्ने बताएका थिए। उनले यसबारे समितिले विस्तृतमा छलफल चलाउन समेत माग गरे।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ठेक्कामा प्रयोग गरिएका कागजातहरुबारे प्राविधिकहरुलाई राखेर छानबिन गरिनुपर्ने बताए। दुवैतिर ख्याल गरेर छानबिन हुनुपर्नेमा उनको जोड थियो।
लेखा समितिमा उजुरीकर्ताले डोल्पा जगदुल्लाको १०६ मेगावाटको आयोजनामा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पाेरेसन लिमिटेड (जेसीई) र नेपाली कम्पनी एएनकेले फर्जी अनुभवको कागजात देखाई ठेक्का प्रक्रियामा सहभागी भएको आरोप लगाएका छन्।
जेसीई–एएनके जेभीले उर्जामन्त्री दिपक खड्का र जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटालाई ठूलो कमिसन रकम अफर गरी मिलेमतोमा नक्कली कागजात पेश गरी यो ठेक्का हात पार्न खोजेको आरोप छ। अर्को चिनियाँ कम्पनी सिनो हाइड्रोले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएपछि छानविन भइरहेको छ।
जेसीईले अनुभवको नक्कली कागजात बनाएको पुष्टि भइसकेको छ। नेपालखबरले यससम्बन्धी सम्बन्धित चिनियाँ कम्पनीले जेसीईले गरेको अनुभवदाबीयुक्त पत्रको खण्डनपत्र प्रकाशित गरिसकेको छ।
यस्तो छ समितिको निर्देशन :

Shares

प्रतिक्रिया