कारोबार


पर्यटन बार्डले सुरु गर्‍यो  नेपाल ‘ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम

पर्यटन बार्डले सुरु गर्‍यो  नेपाल ‘ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १२:४७, काठमाडौँ

नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट–बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ। 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालसँगको सहकार्यमा बोर्डले अनलाइन पाठ्यक्रम सुरु गरेको हो।

काठमाडौँमा जारी हिमालयन ट्राभल मार्टको उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले क्युआर सार्वजनिक गर्दै अनलाइन तालिमको औपचारिक शुभारम्भ गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।

प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) नेपाल र नेपाल एयरलाइन्ससहित अन्य निजी क्षेत्रको सहकार्यमा बोर्डले आयोजना गरेको तीनदिने मार्ट आज सम्पन्न हुँदैछ। नेपालका पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको यो अनलाइन तालिमले नेपालको पर्यटन उद्योगलाई दिगो, समावेशी र व्यावसायिक बनाउन सहयोग पुर्‍याउने मन्त्री पाण्डेको बताए।

कार्यक्रममा विशेषतः ट्राभल एजेन्ट, गाइड, टुर अपरेटर, ट्रेकिङ कम्पनी तथा पर्यटन विषय अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरिएको छ। 

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यस कार्यक्रमले पर्यटन क्षेत्रका पेसाकर्मीहरूलाई डिजिटल क्षमताको विकासमा एउटा कोसेढुङ्गा हुने विश्वास व्यक्त गरे। उनले भने, ‘युएनडिपीसँगको सहकार्यमार्फत हामी केवल ज्ञान आदान–प्रदान गरिरहेका छैनौँ, हामी दिगो, समावेशी र पेसागत पर्यटन उद्योगको जग बलियो बनाउँदैछौँ।’

‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट –एसटिपी’ अन्तर्गत तयार पारिएको यो तालिम नेपाल पर्यटन बोर्डको ‘इ–लर्निङ प्लेटफर्म स्पेसलिस्ट बेसिक लेभल’मार्फत निःशुल्क रूपमा प्रदान गरिने जनाइएको छ।

अनलाइन पाठ्यक्रममा नेपालका भौगोलिक, सांस्कृतिक र जैविक विविधता, प्रमुख पर्यटन उत्पादनहरू जस्तै ट्रेकिङ, साहसिक यात्रा, सांस्कृतिक सम्पदा र वेलनेस पर्यटन, दिगो पर्यटनका सिद्धान्त र गन्तव्य संरक्षण, जिम्मेवार यात्रा अभ्यास, जलवायु लचकता, ग्राहक सेवा सीप र आगन्तुकसँगको प्रभावकारी संलग्नता जस्ता विषयवस्तु समावेश गरिएका छन्।

नेपाल सरकारले घोषणा गरेको ‘पर्यटन दशक’ रणनीतिअनुसार सन् २०३२ सम्म ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई ध्यानमा राखेर मानव संसाधन विकासमा लगानी गरिँदै आएको बोर्डले जनाएको छ । यसै सन्दर्भमा बोर्डले युएनडिपीसँगको सहकार्यमा सन् २०२५ देखि २०२८ सम्म सञ्चालन हुने ‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट’ले दुई हजार ५०० रोजगारी सिर्जना गर्ने तथा पाँच हजारलाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि तालिम दिने लक्ष्य लिएको जनाएको छ।
     
विशेषगरी महिला र सीमान्तकृत समुदायहरूलाई लक्षित गरी स्थानीय तहमा पूर्वाधार सुधार, डिजिटल नवप्रवर्तन र गन्तव्यहरूको क्षमता विकासमार्फत परियोजना कार्यान्वयन गरिने बोर्डले जनाएको छ। परियोजनाले दिगो, समावेशी र स्थानीय स्रोतमा आधारित पर्यटन प्रवर्द्धन गर्दै आर्थिक वृद्धिमा टेवा पु¥याउने बोर्डको विश्वास छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad