कारोबार


नीतिगत छुट र सहज कर्जाले दिएन टेवा, घटेको घट्यै सेयर लगानीकर्ताको आत्मविश्वास

नीतिगत छुट र सहज कर्जाले दिएन टेवा, घटेको घट्यै सेयर लगानीकर्ताको आत्मविश्वास

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १६:५५, काठमाडौँ

सेयरबजारलाई बढ्न टेवा पुग्ने गरी चालू आर्थिक वर्षमा सेयर धितो कर्जाको सीमा हट्यो। लगानीकर्ताको मनोकांक्षाअनुसार नै करको व्यवस्थापन भयो। 

न्यून ब्याजदरका कारण लगानीकर्ताले सजिलै कर्जा लिनसक्ने वातावरण समेत बन्यो तर बजारले लय समात्न सकेन। बजारलाई टेवा मिल्ने पर्याप्त आधार हुँदाहुँदै सोअनुसार बढ्न सकेको छैन।

सरकार र राष्ट्र बैंकले पछिल्लो समय सेयरबजारलाई नकारात्मक असर पार्ने नीतिगत व्यवस्था गरेका छैनन्। बरु यसअघि गरेका सेयर बजारविरोधी नीतिहरुलाई क्रमशः सुधार गरिरहेका छन्। 

अर्थतन्त्र सुधारोन्मुख रहेको राष्ट्र बैंकको तथ्यांक आइरहँदा यसकै ऐना मानिने सेयरबजार निरन्तर २००० देखि २९ सय अंककै बीचमा रुमलिन पुगेको छ। 

गएको वैशाखयता बजारलक्षित गरेर अझै धेरै सकारात्मक सूचनाहरु आइरहेका छन्। 

मौद्रिक नीतिको तेस्रो समीक्षामा नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पहिलो नीति नै सेयरबजारका लगानीकर्तालाई खुसी पार्ने गरी लिए।

उनलाई बजारप्रति आफू सकारात्मक रहेको विश्वास दिलाउनु थियो। सोही कारण कसिलो सेयर धितोकर्जाको जोखिम भारलाई घटाउने पहिलो नीतिगत निर्णय लिए।

उनले १ सय २५ प्रतिशत कायम रहेको जोखिमभारलाई १ सय प्रतिशतमा झारेर लगानीकर्ताका वाहवाही बटुले। तर त्यसले लगानीकर्तालाई खुसी पारे पनि त्यसको छायाँ समेत दोस्रो बजारमा पर्न सकेन। 

मौद्रिक समीक्षा आएको दिन र भोलिपल्टै बजार क्रमशः ८.५७ र ५.२१ अंकले घट्न पुग्यो। 

मौद्रिक समीक्षा कारोबार बन्द भएपछि त्यसको भोलिपल्टको कारोबारमा बजार बढ्ने अपेक्षा थियो तर त्यसो भएन। भोलिपल्ट अर्थात् जेठ १२ गते पनि सूचक ५.२१ अंकले घट्न पुग्यो। 

यस्तै आगामी बजेटले कर बढाउने भयमा लगानीकर्ता थिए। गत वर्षको बजेटमा दोहोरो करमा पर्ने कुरालाई लगानीकर्ताले दबाब दिएरै भए पनि तत्कालका लागि रोकेका थिए। 

नयाँ बजेटले आगामी वर्ष जसरी पनि कर बढाउने नीति लिन सक्ने भन्दै लगानीकर्ता डराए पनि करलाई चलाएन। यसले पनि लगानीकर्तालाई खुसी पार्नुपर्ने थियो, उनीहरुको आत्मविश्वास बढाउनुपर्ने थियो। 

बजारप्रति लगानीकर्ताको आत्मविश्वास बढ्दा लगानी पनि बढ्ने गर्छ। उनीहरुको आत्मविश्वास मापनको प्रमखु माध्यम कारोबार पनि हो र यसले सूचकलाई बढ्न सहयोग गर्छ।

तर यी यावत् सहजीकरणले पनि लगानीकर्ताको आत्मविश्वासलाई खासै बढाउन सकेको सकेन। किन कि गत वैशाखयताको कारोबारलाई हेर्ने हो भने लगानीकर्ताले अधिकतम ११ अर्बसम्म मात्रै कारोबार गरेका छन्। 

वैशाखयता बजार ३० दिन कारोबारमा आएको छ। जसमा १२ कारोबार दिन बढ्दा १८ दिन राताम्मे बनेर घटेको छ।

यो अवधिमा नेप्सेले अधिकतम २७७१ अंकको उचाइ लिएर न्यूनतम २६०५ अंकसम्म ओर्लिएको छ। 

यही अवधिमा लगानीकर्ताले अधिकतम ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार गरेका छन् भने न्यूनतम ६ अर्ब ५२ करोडको कारोबार गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad