सोमबार ५.२१ अंकले घटेको सेयरबजार मंगलबार भने ०.८५ अंकले बढेर सम्हालिएको छ।
बजार परिसूचक नेप्से २६७५.६२ विन्दुमा हरियो भएको दिन कुल १ करोड ४२ लाख कित्ता सेयर बिक्री भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार सो बिक्रीमा ६ अर्ब ५२ करोडको कारोबार भयो। अघिल्लो दिन ७ अर्ब ५८ करोडको कारोबार भएको थियो।
मंगलबार ८५ वटा धितोपत्रको मूल्य बढे पनि १६१ वटाको घटेको छ।
तर एकै दिन आज ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्म्यास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र भूगोल इनर्जी डेभलपमेन्टको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः २१८.४४, १२३.९०, १११.९५ र ६७.३३ रुपैयाँ प्रतिकित्ता कमाएका छन्।
प्रतिकित्ता २८९.३० रुपैयाँमा पहिलो कारोबार गरेको प्योर इनर्जी लिमिटेडको सेयर पनि ९.९९ प्रतिशतले बढेको छ।
आजको कारोबारमा सर्वाधिक गुमाउनेमा गुराँस लघुवित्तका सेयरधनी परेका छन्। कम्पनीको सेयर ७.०९ प्रतिशतले घटेको हो। यसबाहेक उपकार लघुवित्तको सेयर पनि ४.७९ प्रतिशतले घटेको छ। बाँकी कम्पनीहरुको अधिकतम ३.३१ प्रतिशतसम्म गिरावट देखिएको छ।
कारोबारतर्फ आज युनिभर्सल पावर कम्पनीको ६३ करोडको, राधी जलविद्युत्को ४७ करोड, ङादी ग्रुप पावरको ४२ करोड, सानिमा माई हाइड्रोपावरको २६ करोड र बुटवल पावर कम्पनीको २५ करोडको कारोबार भएको छ।
यस दिन विकास र वाणिज्य दुवै बैंकिङ समूह हरियो छन्। त्यसैगरी जलविद्युत्, उत्पादन, सामूहिक लगानी कोष र व्यापार समूहको सूचक पनि हरियो छ। बाँकी उपसूचक भने राताम्य छन्।
Shares

प्रतिक्रिया