नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतलाई रातिको समयमा भारु ४ मा नेपालले विद्युत् बिक्री गरिरहेको बताएका छन्।
आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन्।
उनले भारतमा अहिले केही समय यता दिउँसोको समयमा विद्युत् सस्तो भएको बताए। बिजुली खपत गरेबापत भारतमा अहिले एक मेगावाट आवरको करिव ५० पैसा पाउने अवस्था रहेको बताए।
दिउँसोको समयमा नेपालले पनि त्यही बिजुली आयात गर्ने गरेको उनको भनाई छ। त्यो बेलामा हामीले भारतबाट बिजुली जतिसक्दो ल्याएर कुलेखानी, मर्स्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी जम्मा गरेर राखेको र पिक लोड समयमा नेपालकै विद्युतले आवश्यकता पूरा भइरहेको उनले जानकारी दिए। ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेचिरहेको दाबी गरे।
शनिवार मात्रै २५ सय मेगावाट आवर खरिद गरिएको र १३ सय मेगावाट आवर बिक्री गरेको बताए। जसबाट नेपालले सस्तोमा किनेर महंगोमा बेच्दा युनिट कम भएपनि पैसाको हिसावले फाइदा भएको बताए। नदीको पानी बढी हुन थालेपछि भारतबाट दिउँसो पनि किन्न नपर्ने र दिउँसो पनि सस्तोमा भएपनि बेच्न सकिने बताए।
प्रबन्ध निर्देशक शाक्यले भने, ‘पिक लोडको समयमा पनि अहिले हामीलाई भारतबाट बिजुली लिनु परेन। हाम्रो खोलामा पानी प्रशस्त बढेको छ। राति९ बजेपछि सञ्चित पानीबाट बिजुली बेच्दैछौँ। ९ बजेपछि भारु ४ मा बिजुली पाउने अवस्था छ। त्यसको मतलव हामीले सस्तोमा एक डेढ पैसा, परयुनिटमा किनेर भारु ४ मा बेच्न पाउने अवस्था छ। राति पनि दुई, अढाई रुपैयाँ तलमाथि भइरहन्छ। हामीले शनिबार मात्रै २५ सय मेगावाट आवर खरिद गरेछौँ। राति हामीले १३ सय मेगावाट आवर विक्री गरेका छौँ। विक्री र खरिद युनिट हेर्दा बिक्री युनिट कम छ । तर पैसाको हिसावले फाइदा छ।’
प्रबन्ध निर्देशक शाक्यले गत बुधवार र बिहीवार बाहेकका दिन बाहेक अरु दिन विद्युत आपूर्तिमा समस्या नरहेको जिकिर गरे। वास्तविकता भन्दा पनि फरक रहेर सत्यता लुकाएर अफवाह फैल्याइएको उनको दाबी छ।
Shares

प्रतिक्रिया