नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अवकाश पाएका छन्।
आज जेठ १० गते ५८ वर्षे उमेर हद पार गरेका कारण उनी अवकाशमा गएका हुन्।
त्यसो त उनले गभर्नर पदको उम्मेदवार बन्दै गत फागुनमै कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका थिए।
तर राजीनाामा स्वीकृत भएको थिएन।
‘राष्ट्र बैंककै क्याडर रहेको, जागिरको उत्तरार्धतिर गभर्नरको पद खाली हुन लागेको अवस्थामा नेपाल सरकारले गभर्नरका लागि मौद्रिक अर्थशास्त्री आवश्यक ठानेमा कानुनी र व्यावहारिक समस्या नरहोस् भनेर समयमा नै राजीनामा दर्ता गराएको थिएँ’, उनले नेपालखबरसँग भने, ‘तर आवश्यक नपर्ने बुझिएपछि राजीनामा निष्क्रिय रहेको हो।’
यस क्रममा उनले आफू अझै सार्वजनिक सेवामै रहेको जिकिर गर्दै आफ्ना विषयमा केही मिडियामा भ्रामक समाचार आएको गुनासो पनि गरे।
‘नेपाल सरकारले राष्ट्रिय योजना आयोगको सदस्यको महत्त्वपूर्ण जिम्मेवारीमा गत साउनदेखि राखेको छ। आफ्नो बुद्धि र विवेकले भ्याएसम्म यस संस्थाको जिम्मेवारी निर्वाहको भूमिका खेलिरहेको छु, थप अनुभव पनि भइरहेको छ’, उनले भने, थप प्रभावकारिताका लागि यस संस्थाको राम्रै पुन:संरचना गर्नुपर्ने देख्छु। भोलिका दिनमा सार्वजनिक सेवामा नरहे पनि शैक्षिक, बौद्धिक, सामाजिक, व्यावसायिक काम गरेर देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्न सक्ने देख्छु। खुला आकाशमा विचरणको पनि मजै आउने छ।’
श्रेष्ठले नेपाल राष्ट्र बैंकको जागिरमा २७ वर्ष बिताए।
उता गभर्नर पदकै लोभमा राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट गुणाकर भट्टले राजीनामा दिएका थिए। उनको राजीनामा पनि स्वीकृत भइसकेको छैन।
तत्कालीन कायम मुकायम गर्भनर नीलम ढुंगानाले नयाँ गभर्नरले नै यस विषयमा निर्णय गर्ने भनी राजीनामा स्वीकृत नगरेकी हुन्।
सरकारले गभर्नरनमा डा. विश्वनाथ पौडेल नियुक्त गरिसकेको छ। अब उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने निर्णय नवनियुक्त पौडेलले नै गर्नेछन्।
तर उनी भट्टलाई पुन: राष्ट्र बैंकमै फर्काउने मनसायमा रहेको दाबी राष्ट्र बैंक स्रोतले गरेको छ।
भट्ट फर्किन नचाहेको खण्डमा भने उनको राजीनामा स्वीकृत हुने स्रोतको भनाइ छ।
गभर्नर बन्ने मौका गुमाएका भट्ट भने यतिबेला अमेरिकामा छन्।
Shares

प्रतिक्रिया