कारोबार


सुपरिवेक्षणलाई प्राथमिकता, वित्त नीतिसँग मौद्रिक तादात्म्य मिलाउने नवनियुक्त गभर्नरको प्रतिबद्धता

सुपरिवेक्षणलाई प्राथमिकता, वित्त नीतिसँग मौद्रिक तादात्म्य मिलाउने नवनियुक्त गभर्नरको प्रतिबद्धता

नेपालखबर
जेठ ७, २०८२ बुधबार १२:२७, काठमाडौँ

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्दै सुपरिवेक्षणलाई प्राथमिकतामा राख्ने बताएका छन्। 

केन्द्रीय बैंकको १८औँ गभर्नरमा नियुक्त भएका उनले आज बालुवाटारस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

सो क्रममा उनले बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिक्रिया दिए।

‘हामीले केवल नियम बनाएर मात्र हुँदैन, सुपरिवेक्षणलाई पनि बढाउनुपर्छ’, उनले भने, ‘त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ।’

त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था परिमार्जन गरिने उनले प्रतिबद्धता जनाए। 

त्यस्तै राष्ट्र बैंकका नीतिगत निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने, राष्ट्र बैंकको स्वायत्तता कायम गर्नका लागि राष्ट्र बैंक ऐनअनुसार काम गर्ने पौडेलको भनाइ छ।

उनको भनाइ जस्ताको त्यस्तै - 

राष्ट्र बैंकको भूमिका महत्त्वपूर्ण छ, सबैलाई थाहा नै छ। हामी दुईवटा कुरालाई फोकस गर्छौं। एउटा मौद्रिक नीतिले तय गर्छ, यसलाई सफल बनाउनका लागि र अर्को सुपरिवेक्षण नै हो। 

धेरै नियम बनाएर काम देखिँदैन त्यसैले सुपरिवेक्षणलाई बढाउँ भन्ने छ। बैंकको क्षमता बढाउने हो त्यसमाथि बैंकको मेजर काम सबैलाई थाहै छ। विभिन्न बैंकमा सर्वसाधारणका पैसा बसेका छन्, तिनीहरुको सुरक्षा गर्ने। ल्यान्डिङ पोलिसी राम्रो ल्याउने हो। ल्यान्डिङ पोलिसीहरु पोलिसीहरुको प्रयोग राम्रोसँग भएको छ छैन भनेर अनुगमन गर्ने। निरन्तर मूल्यांकन गर्नेलगायतका कार्यहरु प्राथमिकतामा छन्। 

त्यसैगरी मौद्रिक नीतिले तय गरेका कामहरु सम्पन्न गर्नु नै मुख्य उद्देश्य हुन्छ। अर्कोचाहिँ भनेको सुपरिवेक्षणमा नै फोकस हुन्छ। मैले पोलिसी मेकिङ सधैं सम्भावनारहित हुनुपर्छ भनेको छु। हाम्रो देशमा धेरै स्टेक होल्डरहरु छन्। सुरुमा म आफैँ सोलुसन ल्याएर यसैलाई गरौँ भन्ने पक्षमा पनि छैन। सबैलाई मैले के भनेको छु भने एक दिन अगाडि मौद्रिक नीति ल्याएर यसैमा सबैलाई जबर्जस्ती गराउने हैन। नीतिका विषयमा सम्बन्धित पक्षहरुसँग छलफल नै गर्छु पहिला। त्यसको आधारमा मौद्रिक नीति तय हुन्छ। त्यसैले सबैले राम्रो सोच्नुपर्ने हुन्छ। हामीले अहिले दिएका अधिकारहरु प्रयोग गर्ने हो र ऐनअनुसार काम गर्ने हो। दिएका अधिकारहरु प्रयोग गरेरै काम गर्ने हो। त्यसका लागि नेपाल राष्ट्र बैंकका सम्पूर्ण कर्मचारीको एकमत रहन्छ।

पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। त्यसलगत्तै अर्थमन्त्री विष्णु पौडेललाई भेटेका उनी बालुवाटार पुगी कार्यभार सम्हालेका हुन्। 

मंगलबार मन्त्रिपरिषद्को बैठकले उनलाई गभर्नर नियुक्त गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad