नेपालका लागि युरोपेली युनियन (ईयू)का राजदूतहरू विशिष्ट प्रतिनिधिमण्डलले मंगलबार नेपाल विद्युत् प्राधिकरणको भ्रमण गरेका छन्।
उनीहरूले नेपाल-भारत विद्युत् व्यापार र ग्रामीण विद्तुतीकरणबारे जानकारी लिएका हुन्।
प्राधिकरण स्रोतका अनुसार नेपालका लागि युरोपेली युनियनका राजदूत वेरोनिक लोरेन्जोको नेतृत्वमा भएको उक्त भ्रमणमा युरोपेली देश अस्ट्रिया देखि स्विडेन सम्मका राजदूत तथा दूतावासका उच्चपदस्थ अधिकारीहरु गरी २० जना सहभागी थिए।
टोलीले भार सम्प्रेषण केन्द्रको कार्य अवस्था, नेपाल भारत विद्युत् व्यापार र त्यसलाई भार सम्प्रेषण केन्द्रबाट गरिएको नियन्त्रणबारे पनि राजदूतहरुले जिज्ञासा राखेका थिए।
राजदूतहरुको विशेष चासो युरोपेली युनियनको सहयोगमा भरतपुर, पोखरा र बुटवलको त्रिकोणमा सञ्चालित ग्रामीण विद्युतीकरणबारे थियो। उनीहरूले त्यसको अवस्था, उत्पन्न प्रभाव र चुनौतीबारे समेत जिज्ञासा राखेका थिए।
राजदूतका प्रश्नहरुको जवाफ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दिएका थिए।
साथै उनले राजदूतहरुलाई प्राधिकरणको भार सम्प्रेषण केन्द्रका बारेमा विस्तृत जानकारी गराएका थिए।
Shares

प्रतिक्रिया