कारोबार


१३ विदेशी विमान कम्पनीले तिरेनन् २ अर्ब ३१ करोड कर, कुनको कति?

१३ विदेशी विमान कम्पनीले तिरेनन् २ अर्ब ३१ करोड कर, कुनको कति?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (फाइल तस्बिर)


वसन्त अर्याल
जेठ २, २०८२ शुक्रबार २१:७, काठमाडौँ

१३ विदेशी हवाइ सेवा प्रदायक कम्पनीले २ अर्ब ३१ करोड कर छली गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ।

यात्रुलाई टिकट बिक्री गरी रकम उठाएको तर सरकारको कोषमा दाखिला नभएकोले महालेखापरीक्षकको कार्यालयको ६२औँ वार्षिक प्रतिवेदनले छानबिन गर्न भनेको हो। 

हवाइ सेवामा आयकर ऐन, २०५८ को दफा ७० मा नेपालबाट प्रस्थान हुने यात्रुहरुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाइ यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त विवरणअनुसार १३ गैरबासिन्दा हवाइ कम्पनीले २०८०/८१ मा विभिन्न गन्तव्यमा नेपालबाट उडान भर्दा कर दाखिला नगरेका हुन्। यसअनुसार २ अर्ब ३१ करोड रुपैयाँ कर पहिलो गन्तव्यसम्मको मात्र गणना गरिएको उल्लेख गर्दै महालेखाले अन्तिम गन्तव्यसम्मको भाडासमेत एकीन गरी कर निर्धारण गर्नुपर्ने जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले आयकर ऐन २०५८ अनुसार यात्रुको उडान गरेबापत कम्पनीहरुले कर तिर्नुपर्ने बताए। 

‘टिकट बिक्री गर्‍यो भने टर्नओभर ट्याक्स तिर्नुपर्छ’, उपमहानिर्देशक पाण्डेले भने, ‘नेपालमा बिक्री गरेको छ भने ५ प्रतिशत र विदेशबाट नेपालका लागि टिकट बिक्री गरेको छ भने २ प्रतिशत कर सरकारलाई बुझाउनुपर्छ।’

महालेखाले आयकर ऐनअनुसार टिकट बिक्रीबापतको कर उठेको विषयमा ‘आश्वस्त’ हुन नसकेको विषय उठाएको उल्लेख गर्दै पाण्डेले त्यसलाई छानबिन गर्नुपर्ने बताए। 

‘केही कम्पनीले तिरेकै छन्। कम्पनीहरुले तिर्नुपर्ने दायित्व नै हो’, उनले नेपालखबरसँग भने, ‘नेपालमा टिकट बिक्री गरेको पहिलो गन्तव्यको कर उठाउनलाई खासै समस्या छैन। तर ट्रान्जिटमार्फत दोस्रो गन्तव्यमा पुग्ने यात्रुले समेत तिर्ने करमा केही अस्पष्टता छ।’

आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले प्राधिकरणसँग तथ्यांक माग्दा सहयोग गरिरहेको बताए। 

कुन कम्पनीले कति छले कर?
महालेखाको प्रतिवेदनअनुसार १० देशका १३ एयरलायन्सले कर तिरेका छैनन्। महालेखाले नाम किटान नगरे पनि अधिकांश देशमा एउटा मात्रै विदेशी एयरलायन्स कम्पनीले उडान गर्दै आएका छन्। 

महालेखाका अनुसार साउदी अरब उडान गर्ने एयरलाइन्सले १ लाख ३ हजार १४ यात्रु उडान गर्दा १७ करोड ९७ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ। नेपालबाट साउदी अरबसम्म एयर अरेबियाले नियमित उडान गर्दै छ। 

सिंगापुर उडान गर्ने एयरलाइन्स कम्पनीले ५५ हजार ७३९ यात्रु उडान गरेकोमा १६ करोड ७६ लाख रुपैयाँ तिर्नुपर्ने छ। सिंगापुर एयरलाइन्सले यो गन्तव्यमा दैनिक उडान गरिरहेको छ। 

त्यसैगरी दुबई उडान गर्ने २ एयरलाइन्सले २ लाख २० हजार ७३५ यात्रुले उडान गर्दा ८८ करोड १ लाख रुपैयाँ कर तिर्न बाँकी छ। काठमाडौं–दुवईको गन्तव्यमा फ्लाई दुवईले नियमित उडान गरिरहेको छ। 

प्राधिकरणका अनुसार इत्तेहादले ‘अफलाइन’ उडान गरे पनि नियमित उडान गर्दैन। 

त्यस्तै, भुटान उडान गर्ने २ एयरलायन्सले ३४ हजार ९३७ यात्रुलाई सेवा दिँदा ४ करोड ९६ लाख रुपैयाँ कर भुक्तानी गरेका छैनन्। भुटान एयरलायन्स र ड्रुक एयरले काठमाडौं–भुटान नियमित उडान गर्छन्। 

टर्की उडान गर्ने एक एयरलाइन्स कम्पनीले ४५ हजार १८६ यात्रु बोक्दा १५ करोड ६५ लाख कर छलेका छन्। टर्किस एयरलायन्सले काठमाडौं–इस्तानबुल उडान गर्छ। 

यता मलेसिया उडान गर्ने २ एयरलाइन्स कम्पनीले १ लाख १७ हजार ८७१ यात्रुलाई सेवा दिँदा १९ करोड २१ लाख कर छली गरेका छन्। मलेसिया एयरलाइन्स र बटिक एयरले काठमाडौं–मलेसिया उडान गरिरहेका छन्। 

श्रीलंका उडान गर्ने एक एयरलायन्सले २६ हजार ५५४ यात्रु उडान गर्दा ९ करोड १८ लाख रुपैयाँ कर तिर्न बाँकी छ। त्यस्तै, श्रीलंकन एयरलाइन्सले उडान गरिरहेको छ। 

हङकङ उडान गर्ने एयरलायन्सले ५८ हजार १७५ यात्रु उडान गरेकोमा ३६ करोड ९४ करोड रुपैयाँ राजस्व तिर्नुपर्ने छ। काठमाडौं–हङकङ क्याथे प्यासिफिक एयरलाइन्सले उडान गरिरहेको छ। 

कुवेत उडान गर्ने एयरलाइन्स कम्पनीबाट ९६ हजार ८७५ यात्रुले सेवा लिएका थिए। उक्त कम्पनीले २१ करोड ९ लाख रुपैयाँ कर तिर्न बाँकी छ।  ओमान उडान गर्ने एयरलाइन्सले ६ हजार ८२ यात्रु उडान गर्दा १ करोड ७३ लाख रुपैयाँ राजस्व नतिरेको औँल्याइएको छ। कुन एयरलाइन्सको उडान गर्दा कर छली भएको प्रतिवेदनमा स्पष्ट छैन। 

महालेखाले अघिल्ला प्रतिवेदनमा समेत प्रश्न उठाउँदै आएको थियो। ६१औं प्रतिवेदनमा पनि चीन उडान गर्ने २ कम्पनी, अंकारा उडान गर्ने एक र कुवेत उडान गर्ने एक कम्पनीले २५ करोड ६५ लाख रुपैयाँ कर नतिरेको औँल्याइएको थियो। 

६०औँ प्रतिवेदनमा पनि साउदी अरब, सिंगापुर, दुबई, कुवेत, इस्तानबुल, भुटान उडान गर्ने कम्पनीले ७१ करोड ५ लाख रुपैयाँ कम दाखिला गरेको औँल्याइएको थियो।  

चिनियाँ हवाइ कम्पनी भ्याट तिर्नै तयार भएनन्
एयरलाइन्स कम्पनीमा कर लगाउने विषयमा एकरुपता नहुँदा समस्या आएको प्राधिकरणका एक अधिकारी बताउँछन्। 

‘आयकरको विवाद छ प्राधिकरणलाई कुनै कारबाही गर नभनेसम्म निर्णय गर्न सक्दैनौँ’, ती अधिकारीले भने, ‘सरकारले वायुसेवा टिकट बिक्रीबापत भ्याट उठाउने गरेको छ। तर चिनियाँ एयरलाइन्स कम्पनीले भ्याट नतिरी धमाधम चलिरहेका छन्।’

नेपालमा एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, सिचुवान एयरलाइन्सले नियमित उडान गरिरहेका छन्। 
अर्थ मन्त्रालयका एक राजस्व उपसचिवले चिनियाँ कम्पनीलाई भ्याटमा ल्याउन नसकिएको बताए। 

‘सबै विदेशी एयरलाइन्स कम्पनीले भ्याटको दायरामा आउँदा चिनियाँ कम्पनी एकजुट भएर भ्याट नतिर्ने घोषणा गरेका छन्’, ती उपसचिवले भने, ‘सरकारले चिनियाँ एयरलाइन्स कम्पनीलाई केही गर्न सकेको छैन। त्यसले अरु कम्पनीले प्रश्न उठाउने गरेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad