कारोबार


बैंकर्स संघका पूर्वअध्यक्ष केसीसँग वार्ता : दक्षिण एसियामै नेपालको बैंकिङ क्षेत्र राम्रो अवस्थामा छ (भिडिओ)

‘मौद्रिक नीतिको आफ्नै सीमितता हुन्छ, सरकारले बजेटबाट समस्या सम्बोधन गर्नुपर्छ’
बैंकर्स संघका पूर्वअध्यक्ष केसीसँग वार्ता : दक्षिण एसियामै नेपालको बैंकिङ क्षेत्र राम्रो अवस्थामा छ (भिडिओ)

सुनिल केसी एनएमबी बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत हुन्


कुबेर चालिसे
बैशाख ३१, २०८२ बुधबार १२:३७, काठमाडौँ

वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतबाट भर्खरै सेवानिवृत्त भएका सुनिल केसीले तत्कालीन ग्रिन्डलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट बैंकिङ करिअर सुरु गरेका हुन्।

एनएमबी बैंकमा सन् २००८ मा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका केसी १७ वर्ष सेवा गरेर बिदा भएका छन्। सो बैंकमा कार्यरत १७ वर्षमध्ये ८ वर्ष उनी बैंकको प्रमुख कार्यकारी अधिकृत रहे। केसीको भिजन र नेतृत्वले बैंकको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको उनको बिदाइ कार्यक्रममा बैंकले जनाएको थियो।

सन् २०१७ मा एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत भएका केसी २ कार्यकाल सकेर बैंकबाट बिदा भएपछि आफ्नो बैंकिङ करिअरलाई कसरी सम्झन्छन्, उनी प्रवेश गर्दाको बैंकिङ क्षेत्र र अहिले कति फरक छ, आज बैंकिङ क्षेत्रका चुनौती केके हुन्?

सुनिल केसीसँग नेपालखबरले गरेको कुराकानी :

एनएमबी बैंकबाट बिदा भएपछि कसरी बितिरहेको छ समय?
भर्खरै बिदा भएको छु। लामो समयसम्म काम गरेका कारण केही थकान पनि थियो होला। पहिलेजस्तो व्यस्तता त रहेन। तैपनि व्यक्तिगत केही काम बाँकी छ।

नेपालको बैंकिङ क्षेत्र तपाईं ३५ वर्षअघि प्रवेश गर्दा र अहिलेमा के फरक छ?
सन् १९८४ मा जब विदेशी बैंकहरू आए अनि नेपालमा बैंकिङ सुरु भएको मान्नु पर्छ। त्यतिबेलाको बैंकिङ सीमित थियो। केही विदेशी लगानीका बैंकहरू मात्र थिए। काठमाडौं तथा प्रमुख सहरहरूमा मात्र सीमित, गार्मेन्ट तथा कार्पेटजस्ता क्षेत्रमा विस्तार भइरहेको उत्साहजनक अवस्था थियो। सरकारले धेरै क्षेत्र खोल्न थालेका कारण बैंकिङ क्षेत्रमा पनि उत्साहको माहोल थियो। 

२०४६ सालपछि अर्थतन्त्र उदार भएपछि अन्य क्षेत्रमा पनि विस्तार भयो। तर, धेरै संख्यामा खुलेका बैंक तथा वित्तीय संस्था कन्सोलिडेट हुँदै हाल २० को संख्यामा झरेका छन्। देशभर सबै पालिकामा बैंक पुगेका छन्। बैंकिङ पहुँच बढेको छ। दक्षिण एसियामा नै नेपालको बैंकिङ क्षेत्र तुलनात्मक रूपमा राम्रो छ। नेपालको सामाजिक आर्थिक विकासमा ठूलो भूमिका खेलको छ।

यसबीचमा बैकिङ क्षेत्रले विभिन्न सकारात्मक प्रगति हासिल नगरेको होइन। हामीबीच थुप्रै चुनौती रहे पनि नेपाली बैंकिङ क्षेत्रले दक्षिण एसियामै उत्कृष्ट प्रगति हासिल गरेका छ। त्यसलाई फेरि हामी जस्तै मुलुकहरू वा साउथ एसियामा तुलना गर्‍यौँ भने अझै पनि हामी राम्रो अवस्थामा देख्छौँ।

हाल नेपाली बैंकिङ क्षेत्रको चुनौती के हो?
अहिले आएर हेर्दा खराब कर्जा (एनपीएल) एउटा चुनौती देखिएको छ। हुन त दक्षिण एसियामा नेपालको खराब कर्जा कम नै हो। तर पनि होसियार हुन आवश्यक छ। यसैगरी, बैंकिङ पहुँच बढ्दा पनि आर्थिक वृद्धिलाई सपोर्ट गर्न सकेको छैन। कर्जाको ब्याजदर घट्दो छ। बैंकसँग प्रशस्त तरलता छ। तर, आर्थिक गतिविधि चलायमान नहुँदा कर्जाको माग न्यून रहेको छ। बैंकमा लगानीयोग्य रकम थुप्रिएको छ। आर्थिक शिथिलता र राजनैतिक अस्थिरताका कारण बैंकिङ क्षेत्र चुनौतीपूर्ण मोडमा आएको छ।

यसका साथै युवाहरूमा पहिलाजस्तो बैंकको जागिरमा धेरै लगाव रहेको पाइन्न। पछिल्लो समय बैंकिङ क्षेत्रमा कर्मचारी समेत छोड्दै जाने प्रवृत्ति बढेको छ। यसरी कर्मचारी विदेश पलायन हुने गरेका कारण बैंकहरूमा समस्या आइपरेका छन्। नेपाली बैंकिङ क्षेत्र चार दशकमै सबैभन्दा चुनौतीपूर्ण अवस्थामा आएको हो कि भन्ने लाग्छ। 

नेपालको बैकिङ क्षेत्रलाई नेपाल राष्ट्र बैंकले ज्यादा नियमन गर्‍यो भन्ने गुनासो छ नि?
नेपाल राष्ट्र बैंकले केही राम्रो काम पनि गरेको छ। तर, समयअनुसार नियमन हुनु पर्छ। कोभिडको समयमा धेरै कडाइ गरियो। तर, राष्ट्र बैंकले बैंकहरूको नाफामा नै धेरै असर पार्ने जस्ता विषयहरूमा धेरै कस्नु हुन्न।

आजभन्दा २० वर्षअघि बैंकहरूको रिटर्न अन इक्विटी (आरओई) २० प्रतिशत हाराहारी थियो। आजभन्दा १०–१२ वर्षअगाडि १५ प्रतिशतभन्दा माथिको हाराहारीमा थियो। आज घट्दै गएको छ, औसतमा ७.५ प्रतिशत हाराहारीमा आइसक्यो। जबकि अन्य व्यवसायमा २० प्रतिशत आरओई छ।

त्यसैले बाहिर बसेर हेर्दा राष्ट्र बैंकको नियम समयानुकूल भएन कि! धेरै पारदर्शी भएका कारण बैंकहरू निसानामा परेका हुन्। बैंकले ब्याज बढाएका कारण सबै समस्या भएको भन्ने निजी क्षेत्रको पनि गुनासो थियो। तर आज ब्याजदर पनि ७ प्रतिशत हाराहारी आउँदा किन कर्जा जान सकेको छैन त? यो पनि सोच्नु पर्ने हो।

बैंकहरूको कर्जामा नेपाल राष्ट्र बैंकद्वारा निर्देशित कर्जा ४० प्रतिशतभन्दा बढी हुने रहेछ। बजारमा निर्देशित कर्जाकै कारण समस्या आएको हो भन्ने नै छ?
आर्थिक वृद्धि गर्न वा कुनै पनि क्षेत्रको विकासमा कर्जा मात्रै देऊ भनेर नहुने रहेछ। कुनै क्षेत्र, जस्तै जलविद्युतमा राम्रो योगदान पनि दिएको छ। तर, कर्जाको साथै अन्य विषयहरू पनि महत्त्वपूर्ण हुन्छन्। बैंकले निर्देशित क्षेत्रमा नै लगानी गर्दा पनि उक्त क्षेत्रको विकासका लागि इकोसिस्टम नै नबनेसम्म कर्जा दिएर मात्रै नहुने रहेछ। तर, यसको लागि राष्ट्र बैंकमात्र नभएर त्यो भन्दा माथिल्लो तह अर्थात् नीतिगत रूपमा नै सम्बोधन हुन आवश्यक छ। जुन बैंकको जे विज्ञता वा क्षमता छ, त्यसमा लगानी गर्न दिनु राम्रो होला। 

बैंकहरूले पनि सस्टेनेबल व्यवसाय गर्नुपर्छ। तर, इकोसिस्टम बनाउने कुरा सरकारले माथिल्लो तहबाट नीतिगत रूपमा नै सम्बोधन गर्नुपर्छ। यदि धेरै विद्युत् भए यसबाट अन्य उद्योग आउने सम्भावना पनि रहन्छ। निजी क्षेत्र, सरकार तथा बैंकले गर्ने सबैको काममा एकरूपता हुँदा यसको सकारात्मक परिणाम देखिएला। अन्यथा सबैभन्दा बढी कर तिर्ने तथा ५०–५५ हजार रोजगारी सिर्जना गर्ने बैंकिङ क्षेत्रलाई सहजीकरण हुनुपर्छ।

यसरी पारदर्शी हुँदा, हरेक दिन नेपाल राष्ट्र बैंकमा तथ्यांकहरू पठाउँदा पनि बैंकहरू रातारात किन समस्यामा पर्छन्, के राष्ट्र बैंकको कमजोरी हो?
बैंक समस्यामा पर्ने धेरै कारण हुन्छन्। त्यसमध्ये एउटा मुख्य कारण तरलता हो। किनकि कुनै पनि समस्या आउनेबित्तिकै त्यहाँ पैसा झिक्नेको लाइन हुन्छ। हामीलाई आफ्नो बैंकको मात्र थाहा हुन्छ तर केन्द्रीय बैंकलाई सबै बैंक तथा वित्तीय संस्थाको बारेमा थाहा हुन्छ। अन्य क्षेत्रको दाँजोमा त्यस्तो कुनै समस्या छैन। मेरो विचारमा बैंक अलि संवेदनशील क्षेत्र पनि भएकोले राष्ट्र बैंकले सबै विषय बाहिर नल्याएको होला। तर, केही सुधार गर्नु पर्ने पनि छ, नभएको होइन। 

वित्त नीति अर्थात् बजेटमाथि मैद्रिक नीति हाबी हुन थालेको हो?
कसैले पनि नसोचेको कोभिड आएपछि सानासाना व्यापार व्यवसायलाई असर गर्‍यो। विश्वका धेरै देशमा सरकार नै आफै अगाडि आएर सहयोग गर्‍यो। तर नेपालमा भने बजेटबाट नभएर मौद्रिक नीतिमार्फत सम्बोधन गरियो। त्यतिबेला विषम परिस्थितिमा ल्याइएको मौद्रिक नीति थियो। तर, त्यसपछि पनि सबैको मौद्रिक नीतिमा नै आशा बढ्यो। बजेटको भन्दा पनि बढी मौद्रिक नीतिको चर्चा भयो, कोभिडको कारण। तर, मौद्रिक नीतिको आफ्नै सीमितता हुन्छ। सरकारले बजेटबाट नै यस्ता समस्या सम्बोधन गर्नुपर्छ।

हाम्रो मौद्रिक नीतिमा नियमितता छैन भन्छन् नि?
नेपालमा सन् २०१५ देखि २०२५ सम्ममा आन्तरिक र बाह्य परिस्थितिमा धेरै परिवर्तन भएका कारण परिवर्तनलाई नै नियमितता मान्नु पर्ने भयो। तर, अन्तमा सबै कुरा फेरि बजेटमा नै आउँछ। बजेट नै खर्च गर्न नसक्दा कसरी अर्थतन्त्र चलायमान हुन सक्छ!

हाल बैकिङ क्षेत्रमा देखिएको समस्याका समाधान के होला?
कर्जा वृद्धि बढ्न सकेन। तरलताको स्रोत देशभित्रकै मात्र छ। देश बाहिरबाट तरलताको सहजता भएन। शताब्दीकै ठूलो महामारीले बाह्य कारणले खराब कर्जा बढेको हो, सजग हुनु पर्छ। सम्पत्ति व्यवस्थापन कार्यालय (एसेट म्यानेजमेन्ट कम्पनी) ल्याउनु पर्‍यो। अर्को भनेको बैंकबाट मात्र नभएर युवा देशबाट पलायन भैरहेका छन्। यसमा सरकारले नै आशा जगाउने काम गर्नु पर्‍यो। अवसर सिर्जना गर्ने नेपालका बैंकलाई अन्तर्राष्ट्रिय स्तरमा पनि लाने हो कि, यसमा पनि सोच्नु पर्‍यो। राजनीतिक नेतृत्वमा बस्नेले देशमा आशा जगाउन सक्नु पर्‍यो।

तपाईंको आगामी योजना के छ? 
६ महिनासम्म त कुलिङ पिरियड नै भइहाल्यो। त्यसपछि बैकिङ क्षेत्रमै केही गर्ने विचारमा छु।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad