गत जनवरीमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले चुरोट तथा सुर्तीजन्य पदार्थमा कर बढाउने आकलन थियो।
तर विगत वर्षजस्तै उनले ती वस्तुको कर स्थिर राखिन्। भारतीय बजारमा हरेक वर्ष कर बढ्दा अवैध कारोबार बढेपछि सुर्तीजन्य पदार्थको करलाई स्थिर राख्न थालिएको छ।
भारतीय मन्त्रीहरूले सुर्तीजन्य पदार्थमा ३५ प्रतिशतसम्म कर बढाउन सुझाव दिएका थिए। कर बढाउँदा चुरोटको मूल्य बढ्ने र बजारमा अवैध कारोबार फस्टाउने डरले वित्तमन्त्री सीतारमणले सन् २०२५–०२६ को बजेटमा सिगरेटको कर बढाइनन्। सीतारमणले सन् २०२४–२५ मा पनि कर नबढाई स्थिर राखेकी थिइन्।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी कार्यकालका ८ वटा बजेट ल्याइसकेकी उनले सन् २०२१ र ०२२ को बजेटमा पनि चुरोट तथा सुर्तीजन्य पदार्थको कर स्थिर राखेकी थिइन्।
‘विना ब्रान्डका २ खर्ब १० अर्बबराबरको चुरोट राजस्व छलेर वार्षिक कारोबार भएको छ’, द न्यू इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ, ‘सन् २०२४ मा २ वटा सरकारी निकायले मात्रै १७.८५ करोड स्टिक सिगरेट जफत गरेका थिए।’
भारतको वित्त मन्त्रालयका अधिकारीहरूले भारतमा उत्पादित हुने र आयात हुने दुवै सिगरेटमा उच्च कर भएकाले अवैध कारोबार बढेको ठहर गरेका थिए। त्यसपछि भारतले चुरोट तथा सुर्तीजन्य पदार्थमा स्थिर कर नीति लिएको हो।
यता नेपालमा भने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १० रुपैयाँ पर्ने चुरोटलाई ३० रुपैयाँ पुर्याउनुपर्ने र १ हजार रुपैयाँ पर्ने रक्सीलाई ३ हजार पुर्याउनुपर्ने सार्वजनिक रुपमै धारणा राख्दै आएका छन्। मन्त्रीको धारणासँगै धेरैले नेपालमा अवैध कारोबार बढ्ने चिन्ता व्यक्त गरेका छन्।
नेपालमा १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्याउँदा भारतमा त्यस्तै वस्तु उत्पादन गरी नेपालमा भित्र्याउने सम्भावना बढी छ। यसै पनि सरकारी निकायले नै नेपालमा अवैध आयात भएको चिन्ता व्यक्त गर्दै पत्र काटिरहेका छन्।

नक्कली ब्रान्ड र अन्तःशुल्क स्टिकर लगाई बजारभरि अवैध चुरोट
नेपालमा चुरोट तथा सुर्तीजन्य पदार्थको खपत घटाउने र राजस्व बढाउने उद्देश्यले बढी कर लगाउने गरिएको छ।
सरकारलाई राजस्व लक्ष्य भेट्टाउन नसकेर हम्मेहम्मे भएको छ। तर सीमावर्ती क्षेत्रमा नेपाली ब्रान्डकै नक्कल गरी खुल्लमखुल्ला बिक्री गर्दा सरकारलाई अर्बौँको राजस्व तिर्ने चुरोट उद्योग अप्ठ्यारोमा परेका छन्।
तराई क्षेत्रका बजारमा सूर्य नेपाल प्रालिको नाममा दर्ता भएको खुकुरी चुरोटको नक्कल गरी भारतीय चुरोटको व्यापार भइरहेको भेटिएको छ। भारतीय व्यापारीले नक्कली अन्तःशुल्क स्टिकर टाँसेर नेपाली बजारमा धमाधम चुरोट बिक्री गरिरहेका छन्।
भारतको पटनामा रहेको गोल्डस्टेप टोबाको प्रालिले राजस्व छलेर र नक्कली अन्तःशुल्क स्टिकर टाँसी तराई क्षेत्रका बजारमा नक्कली चुरोट बेचिरहेको भेटिएको छ।
बजारमा नक्कली चुरोट भित्रिँदा सरकारको राजस्व गुमेसँगै नेपाली उद्योगी अप्ठ्यारोमा परेका छन्। तराईका अधिकांश जिल्लामा नेपाली ब्रान्डका चुरोट भारतमा उत्पादन गरी अवैध आयात गरी खुल्ला बिक्री हुँदा सरकारको ठूलो राजस्व गुमिरहेको छ।
‘सरकारलाई हरेक वर्ष अर्बौँको राजस्व बुझाइरहेका हामीलाई सीमावर्ती क्षेत्रमा अवैध कारोबार हुँदा अप्ठ्यारो परेको छ’, सूर्य नेपाल कम्पनीका सचिव प्रेम अर्यालले भने, ‘अवैध आयात नियन्त्रण नभए नेपालमै उद्योग सञ्चालन गर्ने व्यवसायी कमजोर बन्छन्।’
गत फागुनमा उद्योग विभागले गृह मन्त्रालयलाई पत्र काटेरै अवैध कारोबार नियन्त्रणका लागि सहयोग गर्न सुझाव दिएको थियो। गृह मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासनलाई अवैध कारोबार रोक्नका लागि पत्र नै काटिसकेको छ।
‘एउटा उद्योगले दर्ता गरेको ख्यातिप्राप्त ट्रेडमार्कको हुबहु नक्कलले उद्योगको आम्दानी, राज्यको कर तथा उपभोक्ताको अधिकार समेतमा असर गर्ने यस प्रकारको नक्कली उत्पादनको आयात, बिक्रीवितरणलाई खोजतलास गरी उचित कारबाही गर्न गराउन तहाँ मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरी आवश्यक सहयोग गरिदिनुहुन आदेशानुसार अनुरोध छ’, उद्योग विभागले काटेको पत्रमा भनिएको छ।
विभागले पर्सा जिल्ला प्रशासन, सप्तरी जिल्ला प्रशासन, धनुषा जिल्ला प्रशासन र सुनसरी जिल्ला प्रशासनलाई आवश्यक निर्देशनका लागि गृहलाई गुहारेको छ।

स्थिर कर नीतिमार्फत अवैध कारोबार रोक्न माग
इन्डस्ट्री एस्टिमेट्स र मिडिया रिपोर्टअनुसार चोरीतस्करीका चुरोटबाट ४ अर्ब १२ करोड करछली हुने गरेको छ भने बिँडी, खैनी र गुट्खाबाट साढे १० अर्ब ६२ करोड करछली भएको पाइएको छ। यसरी सरकारले यस्ता वस्तुको अवैध व्यापार तथा ओसारपसारबाट कुल १४ अर्ब ८६ करोड करछली भएको अनुमान छ।
चुरोटको अन्तःशुल्क र स्वास्थ्य जोखिम करमा भएको निरन्तर वृद्धिले चुरोटको अवैध व्यापारलाई बढावा दिएको छ। यसले नेपालमा नक्कली चुरोटको तस्करी र बिक्रीवितरण बढेको अध्ययनले देखाएको छ।
भारत सरकारले अवैध कारोबार रोक्न चुरोट तथा सुर्तीजन्य पदार्थमा स्थिर कर नीति लिएको छ। पछिल्ला वर्ष भारत सरकारले सुर्तीजन्य पदार्थमा अवैध कारोबार बढेकोले करलाई स्थिर राखेको बताउँदै नेपालले पनि केही वर्ष स्थायित्व दिनुपर्ने उनले बताए।
‘नेपाल सरकारले कर बढाउनुपूर्व भारतको बजार हेर्नुपर्छ। भारतले कर नबढाएको अवस्थामा नेपालले बढाउँदा अवैध करोबार बढ्छ’, अर्यालले भने, ‘अहिले त भारतमै अवैध उत्पादन गरी भन्सार छलेर नेपाल भित्र्याई कारोबार भइरहेको छ, यसलाई रोक्नुपर्छ।’
विगत वर्षहरूमा सूर्य, शिखर, खुकरीलगायतका प्रसिद्ध घरेलु ब्रान्डका चुरोटको नक्कली उत्पादनको मौज्दात वीरगन्ज, जनकपुर र नेपालगन्जका बजारहरूबाट उल्लेख्य मात्रामा जफत गरिएका छन्।
‘चुरोटको अन्तःशुल्क र स्वास्थ्य जोखिम करमा भएको निरन्तर वृद्धिले चुरोटको अवैध व्यापारलाई बढावा दिएको छ’, अर्यालको दाबी छ, ‘तराई क्षेत्र र काठमाडौंकै बजारमा नक्कली चुरोटको तस्करी र बिक्रीवितरण बढेको देखिन्छ।’
Shares

प्रतिक्रिया