कारोबार


ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोड असुलउपरको माग गर्दै उच्च अदालत पाटनमा अभियोगपत्र

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोड असुलउपरको माग गर्दै उच्च अदालत पाटनमा अभियोगपत्र

नेपालखबर
बैशाख २२, २०८२ सोमबार २०:१५, काठमाडौँ

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी कसुरमा ध्रुव कन्स्ट्रक्सन प्रालि (स्थायी लेखा नं. ६०९७५४५११) का सञ्चालक ध्रुव देव विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले सोमबार राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २०(६) बमोजिम मुद्दा दायर गरेको जनाएको छ।

काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ठेका पट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल वीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंकमार्फत नगरेको, बीजकहरू सिलसिलेवार जारी नगरेको, मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको विभागको आरोप छ।

यस्तै, मूल्य अभिवृद्धि कर तथा आयकर तर्फ झुट्टा विवरण पेश गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकर लगायतका राजस्व नतिरी राजस्व चुहावट गरेको अभियोग लगाइएको छ।

देवलाई मूल्य अभिवृद्धि करतर्फ ४५ करोड ८० लाख ८३ हजार ४३४ रुपैयाँ र आयकरतर्फ रू १४ करोड ६५ लाख ३१ हजार ८२४ रुपैयाँ गरी जम्मा रु. ६० करोड ४६ लाख १५ हजार २५८ रुपैयाँ बिगो कायम गरी बिगो असुल तथा बिगोको शतप्रतिशत जरिवाना गरी जम्मा १ अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ रुपैयाँ असुलउपर गर्न तथा ऐनको दफा २३ को उपदफा (१) (घ) बमोजिम कैद सजायको मागदाबी लिई आज उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरिएको विभागका प्रवक्ता कृष्ण कुमारी श्रेष्ठले जनाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad