नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्।
‘नेपालको अर्थतन्त्रमा एएमइजको योगदान ठूलो छ, तर योगदान अनुरुप प्रोत्साहन छैन,’ श्रेष्ठले भने, ‘यसले गर्दा उत्पादन, उत्पाकत्व र रोजगारीमा समेत असर पारेको छ। ती उद्योगहरुको प्रर्वद्धनका लागि सहज ऋण प्राप्ति, लिएको ऋणको पुनः नवीरकण वा पुर्नतालिकीकरण आवश्यकछ। नयाँ बजेटले यी विषयहरु सम्बोधन हुने छन् भन्ने हाम्रो अपेक्षा छ।’
साथै उनले बलियो सरकार बनेको अवस्थामा निजी क्षेत्रले नीतिगत स्थायित्वको अपेक्षा गरेको सुनाए। देशको अर्थतन्त्र चलायमान हुन पूर्वाधार विकास अपरिहार्य भएपनि तदनुरुप पूर्वाधारको विकास हुन नसकेको उल्लेख गर्दै उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गर्न तथा ती विमानस्थलबाट आन्तरिक सम्पर्क गराउन सरकारको ध्यानाकर्षण गराए।
श्रेष्ठले नेपालमा ४० प्रतिशतभन्दा बढी अनौपचारिक अर्थतन्त्र रहेको उल्लेख गर्दै अनौपचारिक अर्थतन्त्र नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नु पर्ने सुझाव दिए।
सरकारले नीति तथा कार्यक्रममा रोजगार दशक घोषणा गर्ने कार्यक्रम ल्याएकोमा त्यसलाई औद्योगिकरणको दशक बनाउन समेत उनले सुझाव दिए। देशबाट युवा पलायन भइरहेको अवस्थामा औद्योगिक विकास र अवसर सिर्जना गर्न सकेमात्र युवा पलायन रोक्न सकिने श्रेष्ठले दाबी गरे।
Shares

प्रतिक्रिया