कारोबार


पोखरा विमानस्थल अनियमितता : उड्डयन प्राधिकरणका यी १५ कर्मचारी निर्णयप्रक्रियामा सहभागी

पोखरा विमानस्थल अनियमितता : उड्डयन प्राधिकरणका यी १५ कर्मचारी निर्णयप्रक्रियामा सहभागी

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १५:१८, काठमाडौँ

१० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनिएको पोखरा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका १५ कर्मचारी निर्णयप्रक्रियामा सहभागी भएको देखिएको छ।

सार्वजनिक लेखा समितिले बनाएको सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले हालका महानिर्देशकसहित १५ कर्मचारीलाई निर्णयका क्रममा सहभागी भएको भन्दै छानबिनको माग गरेको हो।

सोमबार लेखा समितिलाई बुझाएको प्रतिवेदनमा हालका महानिर्देशक प्रदीप अधिकारी, पूर्वमहानिर्देशकहरु सञ्जीव गौतम र राजन पोखरेललाई कारबाही गर्न भनिएको छ।

त्यसबाहेक विनेश मुनाकर्मी, चाँदमाला श्रेष्ठ, प्रविन न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, बाबुराम पौडेलको नाम पनि प्रतिवेदनमा उल्लेख छ।

उपसमितिले गरेको अध्ययनमा १५ कर्मचारी दोषी हुने देखिए पनि प्रतिवेदनमा तल्लो तहका कर्मचारीको नाम सार्वजनिक गरिएको छैन। 

उपसमितिले विवरण संकलन गर्दा तत्कालीन महानिर्देशकहरु सञ्जीव गौतम, राजन पोखरेल, आयोजना निर्देशक इ. प्रदीप अधिकारी र इ. बाबुराम पौडेल, सीएनएस आयोजना निर्देशक इ. प्रवीण न्यौपाने छन्। 

त्यसबाहेक तत्कालीन प्रबन्धक रामहरि महर्जन, आयोजना निर्देशक इ. चाँदमाला श्रेष्ठ, इ. विनेश मुनकर्मी, उपप्रबन्धक इ. हिमज्योती थापा, सञ्जीव खड्का, प्रवीण आचार्य, सविन फुयाल र राजेन्द्रप्रसाद पौडेल छन्। 

वरिष्ठ अधिकृत इ. मिनराज ओझा, मनिसा बराल, प्रवेश गुरुङ र अधिकृत रविन्द्र कोइराला निर्णय प्रक्रियामा सहभागी रहेको देखिएको छ।  

संसदीय उपसमितिले ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता र भ्रष्टाचार भएको, निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको निष्कर्ष निकालेको छ। 

कर्मचारीहरुले सार्वजनिक खरिद ऐन तथा प्रचलित मान्यताविपरीत भ्रष्टाचारलाई वैधता प्रदान गर्ने मनसायले ३ सदस्यीय कार्यदल गठन गरी लागत अंक वृद्धि गर्न नीतिगत निर्णय गर्न सघाएको प्रतिवेदनमा उल्लेख छ। 

यसअनुसार मूल सम्झौताको विपरीत करछुट दिएर २ अर्ब २२ करोड ४० लाख रुपैयाँ आर्थिक अनियमितता गरेको देखिएको छ। छिनेडाँडा काट्न ठेकेदारकै जिम्मेवारी भए पनि प्राधिकरणले ३२ करोड २ लाख रुपैयाँमा छुट्टै निर्माण व्यवसायीलाई भुक्तानी दिएको प्रतिवेदनले औँल्याएको छ। 

विमानस्थलको एचभी एसी सिस्टमका लागि आयोजनाले नै खर्च गर्नुपर्ने छुट्टै ७ लाख ४२ हजार डलर प्राधिकरणले आफ्नै बजेटबाट भुक्तानी गरेको उल्लेख छ। 

विमानस्थलभित्र रन वे ट्याक्सी वे, एप्रोन, बाँध, नालीहरु निर्माणका लागि माटो खन्नका लागि १ करोड ६ लाख ४८ हजार अमेरिकी डलर भुक्तानी भएको तर काम नभएको प्रतिवेदनमा छ।

रनवे, ट्याक्सी वे, उपन, बाँध, नालीहरु भर्नका लागि ४४ लाख ३५ हजार डलर भुक्तानी भएको काम नभएको, विमानस्थल बाहिरबाट ग्राभेल माटो ल्याउनका लागि ५४ लाख ९९ हजार डलर भुक्तानी भएको तर कागजपत्र नभएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad