कारोबार


नीलमले मानिनन् अर्थमन्त्रीको निर्देशन, भट्ट र श्रेष्ठको राजीनामा स्वीकृत भएन

मन्त्रिपरिषद्ले पनि दिएन गभर्नर सिफारिस समितिलाई पूर्णता
नीलमले मानिनन् अर्थमन्त्रीको निर्देशन, भट्ट र श्रेष्ठको राजीनामा स्वीकृत भएन

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १२:१६, काठमाडौँ

नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिएको निर्देशन बेवास्ता गरेकी छिन्। 

ढुंगानाले अर्थमन्त्रीको निर्देशनका बाबजुद गभर्नरका प्रत्याशीद्वय राष्ट्र बैंककै कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट र डा. प्रकाश कुमार श्रेष्ठको राजीनामा स्वीकृत नगरेकी हुन्।

दुईमध्ये भट्टलाई भावी गभर्नर बनाउन दुई प्रमुख सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भइसकेको छ। यहीबीचमा कार्यकारी निर्देशक रहेकै बेला भट्ट गभर्नर बन्न नसक्ने भन्दै सर्वोच्चमा परेको रिट विचाराधीन छ।

गत आइतबार अर्थमन्त्री पौडेलले कामु गभर्नर ढुंगानालाई उनीहरुको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए। तर ढुंगानाले भने राजीनामा स्वीकृत नगरी गभर्नर नियुक्तिको हलो अड्काएकी छिन्। 

सिफारिस समितिले पाएन पूर्णता
यसैबीच, सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिने आशा गरिएको थियो। 

तर समितिले पूर्णता पाएन। गत चैत १६ गते अर्थमन्त्री पौडेल संयोजकत्वको समिति गठन भएको थियो। 

यही वैशाख १० गते दुई सदस्यमध्येका विजयनाथ भट्टराईले असन्तुष्टि जनाउँदै समिति छाडेका थिए। अर्का सदस्य विश्व पौडेल रहे पनि मन्त्रिपरिषद्ले पुनः १ सदस्य नियुक्त गरेर समितिलाई पूर्णता दिनुपर्ने अवस्था छ। 

सोही कारण सोमबार साँझ समितिले पूर्णता पाउने अपेक्षा थियो। 

‘गभर्नर सिफारिस समितिलाई पूर्णता दिने विषयमा केही निर्णय भएन’, एक मन्त्रीले नेपालखबरसँग भने, ‘त्यससम्बन्धी प्रस्ताव नै आएन।’

राष्ट्र बैंकमा राजीनामा अड्किएपछि सिफारिस समितिले पनि पूर्णता नपाएको देखिएको छ।

गएको १ महिनादेखि गभर्नर नियुक्ति बिथोलिँदै आएको छ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २५ गते सकिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad