कारोबार


पेट्रोलभन्दा धेरै भटमासको कच्चा तेल आयात, ९ महिनामा अर्जेन्टिनाबाट मात्र ५० अर्बको भित्रियो

पेट्रोलभन्दा धेरै भटमासको कच्चा तेल आयात, ९ महिनामा अर्जेन्टिनाबाट मात्र ५० अर्बको भित्रियो

वसन्त अर्याल
बैशाख १४, २०८२ आइतबार १९:३७, काठमाडौँ

नेपालमा पेट्रोलभन्दा भटमासको कच्चा तेल बढी आयात हुन थालेको छ।

चालू आर्थिक वर्षमा भटमासको कच्चा तेल डिजेलपछि सबैभन्दा बढी आयात हुने वस्तुमा परेको हो।

नेपालमा सबैभन्दा बढी डिजेल, पेट्रोल, ग्यास आयात हुने गरेको थियो। तर पछिल्लो तथ्यांकअनुसार भटमासको कच्चा तेल एकैचोटि अगाडि आएको छ। चैतसम्म ६६ अर्ब ५ करोड रुपैयाँको कच्चा भटमास तेल आयात भएको भन्सार विभागले जनाएको छ। 

२०८० चैतसम्म १० अर्ब ८२ करोड रुपैयाँको मात्रै आयात भएको भटमासको कच्चा तेल ०८१ को सोही अवधिमा करिब साढे ५५ अर्ब बढीको आयात भएको हो।  

तथ्यांकअनुसार चैतसम्म ९१ अर्ब २६ करोड रुपैयाँको डिजेल र ४७ अर्ब ७७ करोडको पेट्रोल आयात भएको छ। त्यस्तै कच्चा सनफ्लावरको तेल २२ अर्ब ६४ करोड रुपैयाँको आयात भएको छ। 

कहाँबाट आउँछ? 
नेपालमा ५० अर्बको कच्चा भटमास तेल (क्रुड सोयाबिन) अर्जेन्टिनाबाट आएको देखिएको छ। 

यसबाहेक ब्राजिलबाट ७ अर्ब २६ करोड, चीनबाट १ अर्ब १ करोड, इराकबाट १ अर्ब ८४ करोड, थाइल्यान्डबाट २ अर्ब ३३ करोड, युक्रेनबाट १ अर्ब ७३ करोड रुपैयाँको आयात भएको छ। त्यसबाहेक परुगे, टागो, बेनिनबाट समेत कच्चा सोयाबिन आयात हुने गरेको छ।

त्यसरी आयात गरिएको कच्चा सोयाबिन प्रशोधन गरी नेपालबाट तेल निर्यात हुने गरेको छ। 

भन्सार तथ्यांकअनुसार सोयाबिन तेल नेपालबाट ६२ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको छ। यस्तो निर्यात गत वर्ष चैतसम्म ८२ करोड रुपैयाँको मात्रै थियो। त्यसैगरी सनफ्लावरको तेल पनि यो अवधिमा ९ अर्ब २३ करोड रुपैयाँको निर्यात भएको छ।

यो ९ महिनामा सनफ्लावरको कच्चा तेल युक्रेनबाट १७ अर्ब १७ करोडको र अर्जेन्टिनाबाट ५ अर्ब ४१ करोडको आयात भएको छ। ०८० चैतसम्म सनफ्लावरको १२ अर्ब ६३ करोडको र पाम आयल ९ अर्ब ७५ करोडको आयात भएको थियो। 

समग्रमा अर्जेन्टिनाबाट मात्रै ५७ अर्ब ७० करोड रुपैयाँको भटमास र सनफ्लावरको कच्चा तेल आयात भएको छ। यसबाहेक युक्रेनबाट २० अर्ब, ब्राजिलबाट ८ अर्ब ८९ करोडको कच्चा खाने तेल नेपालमा आयात गरिएको छ।   

आर्थिक वर्ष २०७९/०८० को चैतसम्म पाम आयल २२ अर्ब ४ करोडको र सनफ्लावर १३ अर्ब २९ करोड रुपैयाँको आयात भएको थियो। त्यतिबेला सोयाबिन ३० अर्ब रुपैयाँको आयात भएको थियो। 

आर्थिक वर्ष २०७८/०७९ मा सोयाबिनको ४५ अर्ब ५८ करोड रुपैयाँको आयात हुँदा पायम आयल ३२ अर्ब ४ करोडको र सनफ्लावरको १६ अर्ब ४९ करोडको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

नेपालले आर्थिक वर्ष २०७८/०७९ मा ४७ अर्ब २३ करोड रुपैयाँको पेट्रोल आयात गरेको थियो। त्यसैगरी ०७९/०८० मा ४९ अर्ब ७४ करोडको र २०८०/०८१ मा ४७ अर्ब ७७ करोडको आयात भएको थियो। 

नेपालमा प्रशोधन गरिसकेपछि तेल भारतलगायतका देशहरुमा निर्यात हुने गरेको छ। 

भन्सार विभागका एक उच्च अधिकारी भारतलाई तेस्रो देशबाट कच्चा पदार्थ ल्याएर भित्रिने जानकारी भए पनि नेपालबाट हुने तेल आयातलाई खुला गरेको बताउँछन्। 

‘भटमास, सनफ्लावर, पाम आयलको नेपालमा थोरै मात्र भ्यालुएड (मूल्य अभिवृद्धि) हुन्छ’, ती अधिकारीले भने, ‘भारतमा उत्पादनभन्दा नेपालमा सस्तो पर्ने भएकाले सहजरूपमा प्रवेश दिएको छ। तर निर्यातको दिगो वस्तु भने देखिँदैन।’

निर्यात फस्टाएपछि जनकपुरमा तेलको उद्योग खोल्न भारतीय कम्पनी विनायक आयलले लगानी बोर्डमा प्रस्ताव समेत गरेको छ। 

उसले नेपाली साझेदार राइसा टिबडेबालसँगको साझेदारीमा ६ अर्ब लगानी गर्ने प्रस्ताव गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad