पाकिस्तान र भारतको तनाव बढ्दा त्यसको असर भारतीय वायुसेवा प्रदायकमा परेको छ।
बिहीबार पाकिस्तानले तत्काल लागू हुने गरी भारतीय स्वामित्वका र भारतीयले सञ्चालन गरेका वायुसेवा कम्पनीहरुलाई आफ्नो एयरस्पेस बन्द गरिदिएको थियो।
बुधबार भारतले पाकिस्तानसँगको सम्बन्ध ‘डाउनग्रेड’ गर्दै शृंखलाबद्ध रुपमा कदम चालेको थियो। जम्मु काश्मिरमा भएको आतंकवादी हमलामा ठूलो संख्यामा हताहत भएपछि भारतले त्यसमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै ती कदम चालेको थियो।
त्यसपछि पाकिस्तानले पनि बिहीबार शृंखलाबद्ध रुपमा जवाफी कदम चालेको थियो। सोही सिलसिलामा भएको एयरस्पेस बन्दीले भारतीय वायुसेवा प्रदायकमा प्रभाव पारेको हो। दिल्ली र उत्तर भारतका सहरबाट उड्ने विमानहरुलाई यसको असर परेको छ।
एजेन्सीहरुका अनुसार पश्चिम उडान भर्ने भारतीय कम्पनीहरुले अरब सागरमाथि रि–रुट गरेका छन्। यसले यात्रा समय र लागत दुवै बढेको बताइएको छ। कतिपय एयर इन्डियाका उडानहरु इन्धन भर्न डाइभर्ट नै गर्नुपरेको बताइएको छ।
उड्डयन क्षेत्रका जानकारहरुका अनुसार यसले यात्रु भाडा समेत ती रुटमा ८ देखि १२ प्रतिशतसम्मले बढ्न सक्नेछ। विमानको इन्धन खपत बढ्दा भाडामा असर पर्ने बताइएको छ।
यसैबीच एयर इन्डियाले आफ्ना केही उडान वैकल्पिक रुटबाट हुने र समय पनि धेरै लाग्ने जानकारी गराएको छ। एयरलाइभ नेटबाट
Shares

प्रतिक्रिया