कारोबार


उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै चन्द्र ढकाल, हेटौंडामा बियर उद्योग सञ्चालनको तयारी

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै चन्द्र ढकाल, हेटौंडामा बियर उद्योग सञ्चालनको तयारी

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १८:४३, काठमाडौँ

आईएमई ग्रुपले उत्पादनमूलक उद्योगमा पनि लगानी बढाउन थालेको छ।

बैंक तथा वित्तीय क्षेत्रबाट उदाएका व्यवसायी चन्द्र ढकालले उत्पादनमूलक उद्योगमा पनि लगानी विस्तारलाई निरन्तरता दिएका हुन्। 

महोत्तरीको गौशालामा कागज उद्योग सुरु गरेका ढकाल हेटौंडामा बियर उद्योग सञ्चालनको तयारीमा छन्। ग्लोबल आईएमई बैंक, आईएमई रेमिट, सातै प्रदेशमा केबलकार तथा होटल व्यवसायमै लक्षित ढकाल उत्पादनमूलक उद्योगमा अग्रसर भएका हुन्। 

पछिल्लो समय पर्यटनसँगै अटोमोबाइल, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा संलग्न रहेको आईएमई ग्रुपले आफ्नो व्यवसायलाई नयाँ क्षेत्रमा विस्तार गर्दै छ। 

हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालनका लागि उनी साउथ एसियन ब्रुअरीको बहुमत सेयर खरिदको तयारीमा छन्। लाइसेन्स लिएर पनि उत्पादन सुरु नभएको उद्योगको ८० प्रतिशत सेयर लिने गरी प्रस्ताव उद्योग विभागमा पुगेको छ। 

‘बियर उद्योगको सेयर खरिद गर्ने विषयमा कुनै निर्णय भइसकेको छैन’, आईएमई गुपका एक अधिकारीले भने, ‘उद्योग विभागमा एउटा प्रस्ताव गएको छ। त्यसमा कुनै प्रगति भएको छैन।’

साउथ एसियन ब्रुअरीको लाइसेन्स ग्यास उद्योगी गोकुल भण्डारीले लिएका थिए। सरकारले बियर उद्योगका लागि नयाँ लाइसेन्स नदिएकाले आईएमई समूहले बहुमत सेयर खरिद गरी उत्पादन सुरु गर्ने तयारी गरेको छ।

गत फागुनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपको लगानी रहेको नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा आइसकेको छ।

नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी छ। २०७८ मा शिलान्यास भएको यो उद्योगले निर्माण सकेर २०८१ पुसदेखि परीक्षण उत्पादन गर्दै आइरहेको थियो।  

नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको तथ्यांक छ। नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रको लगानीमा स्वदेशमै उत्पादन सुरु गर्न लागिएको ग्रुपले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad