कारोबार


राष्ट्र बैंक गभर्नरविहीन बन्दा समेत सिफारिस समितिले राख्न सकेन पहिलो बैठक

अन्तमा नीलम ढुंगाना र गुणाकर भट्टकै नाम अगाडि
राष्ट्र बैंक गभर्नरविहीन बन्दा समेत सिफारिस समितिले राख्न सकेन पहिलो बैठक

सिफारिस समितिका संयोजक एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सदस्यद्वय विजयनाथ भट्टराई र विश्व पौडेल


नेपालखबर
चैत २४, २०८१ आइतबार १४:२१, काठमाडौँ

नेपाल राष्ट्र बैंक गभर्नरविहीन बनिसक्दा पनि सिफारिस समितिले पहिलो बैठकसमेत राख्न सकेको छैन।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिको अहिलेसम्म पहिलो बैठक नै बस्न नसकेको हो। 

सोही समितिका सदस्य तथा पूर्वगनर्भर विजयनाथ भट्टराईले गभर्नर सिफारिससम्बन्धी हालसम्म कुनै बैठक नबसेको जानकारी दिए। 

‘गभर्नर सिफारिस समिति सदस्य बनाएको पत्र पाउनेबाहेक बैठकका लागि अहिलेसम्म कुनै सूचना मलाई आएको छैन,’ आइतबार उनले नेपालखबरसँग भने। 

मन्त्रिपरिषद्ले चैत १८ गते अर्थमन्त्री पौडेल संयोजक रहने गरी भट्टराई र अर्थविद् विश्व पौडेललाई सिफारिस समिति सदस्यमा नियुक्त गरेको थियो।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारी ५ वर्षे कार्यकाल सकिएर बिदा भइसकेका छन्। उनले शुक्रबार नै राष्ट्र बैंकबाट बिदा भएका हुन्।

गभर्नर पद खाली नराख्न कार्यकाल सकिनु एक महिनाअगावै सरकारले नयाँ नियुक्तिको काम अगाडि बढाउनुपर्ने नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था छ।

सोहीअनुसार गभर्नर बनाउन दलहरूले आन्तरिक सक्रियता देखाए पनि सरकारले एक हप्ताअगाडि मात्र समिति गठन गरी औपचारिक रूपमा नियुक्ति प्रक्रिया थालेको थियो।

ढिलो गरी नियुक्ति प्रक्रिया सुरु गरिए पनि समिति बनेको एक हप्ता बितिसक्दा समेत संयोजक रहेका अर्थमन्त्री पौडेलले बैठक नै नडाकेका हुन्।

अहिले सत्ता साझेदार दलहरू भावी गभर्नरको भागबण्डामा आन्तरिक रूपमा लागेका छन्। तर उनीहरुबीच यसबारे निर्णय हुन नसकेपछि अर्थमन्त्रीले बैठक नबोलाएका हुन्। 

नेपाल राष्ट्र बैंक ऐनअनुसार मन्त्रिपरिषद्‍द्वारा गठित गभर्नर सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा सिफारिस गर्नुपर्छ।

स्रोतका अनुसार गभर्नरमा डेपुटी गभर्नर नीलम ढुंगाना र कार्यकारी निर्देशक गुणाकर भट्ट मुख्य उम्मेदवारको सूचीमा छन्।

राष्ट्र बैंककै हाल सञ्चालक सदस्य रवीन्द्र पाण्डे र पूर्वमूख्यसचिव राजेन्द्र किशोर क्षत्री पनि कसरतमा छन्। तर शीर्ष नेता नै तयार नभएपछि स्वार्थ समूहले बोकेका भनिएका क्षत्री पछाडि परेका छन्। कांग्रेसको एउटा पक्षले प्रयास गरेपनि पाण्डेलाई गभर्नर बनाउन प्रधानमन्त्री र अर्थमन्त्री तयार छैनन्। 

नीलमलाई गभर्नर बनाउन स्वार्थ समूहको समेत पहलमा प्रधानमन्त्री स्वयं लागिपरिरहेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा गुणाकरको पक्षमा छन्।

त्यसो त राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र, भर्खरै राजीनामा दिएर गभर्नरको दौडमा आएका राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठ र नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्न कस्सिएका ज्ञानेन्द्र ढुंगाना पनि दाबेदारको रूपमा छन्।

एमालेको सुरुको प्रस्तावमा रहेका डा प्रकाश कुमार श्रेष्ठलाई कांग्रेसले नमान्दा प्रधानमन्त्री र अर्थमन्त्री नीलमको पक्षमा उभिएको बताइएको छ। जसमा कांग्रेस पनि अन्तमा सहमत हुन सक्नेछ। यदि कांग्रेसकै सिफारिसअनुसार गभर्नर नियुक्त हुँदा गुणाकर भट्टले बाजी मार्न सक्ने देखिएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad