मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषा जिल्लास्थित राजमार्ग आसपासको रात्रिकालीन होटलको अनुगमन गरेका छन्।
निजी नम्बरप्लेटको माइक्रोबसमा सादा पोसाकमा खटिएका सुरक्षाकर्मीसहित मुख्यमन्त्री नेतृत्वको उच्चस्तरीय अनुगमन टोलीले यात्रुलाई खाना खुवाएबापत विशेषगरी सार्वजनिक बस तथा माइक्रोबस चालक तथा परिचालकलाई दिइने ‘कमिसन’बापतको रकम र त्यो दिने तरिकालगायत विषयमा होटल सञ्चालकसँग कुराकानी गरेका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसक्रममा सञ्चालकले खाना खाने यात्रुको सङ्ख्याका आधारमा दैनिक, साप्ताहिक, मासिक वा दुवै पक्षबीचको सहमतिअनुसार निश्चित दिनको अन्तरमा ‘कमिसन’ दिनुपर्ने चलन रहेको मुख्यमन्त्री सिंह नेतृत्वको टोलीलाई बताए।
सो अनुगमनका क्रममा अधिकांश होटलका भान्साघर फोहर देखिएको, दालमा दाना नभई बेसार–पानी रहेको, सागसब्जी नकेलाई पकाइएको, माछामासु पकाइएको समय एकिन गर्न नसकिएको तथा होटलमा अत्यधिक भीडका कारण कसले के खाए भन्ने ठम्याउन नसकिने अवस्था रहेकाले नखाएको वस्तुका पैसा तिर्न ग्राहक बाध्य हुनुपरेको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले जानकारी दिए। रासस
126
Shares

प्रतिक्रिया