चालू आर्थिक वर्ष २०८१/८२ काे पहिलाे त्रैमासिकमा ४ प्रतिशत मात्रै रहेकाे आर्थिक वृद्धिदर दाेस्राे त्रैमासिकमा ५.१ प्रतिशत पुगेकाे छ।
तथ्यांक कार्यालयले सार्वजनिक गरेकाे तथ्यांकअनुसार अर्थतन्त्रमा सुधार देखाएकाे हाे।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक र गत आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलनामा अर्थतन्त्रका प्रस्तुत गरिएका कुल १८ औद्योगिक वर्गीकरणमध्ये १८ वटै औद्योगिक क्षेत्रहरूको कुल मूल्यअभिवृद्धि वृद्धिदर धनात्मक रहेको कार्यालयले जनाएको छ।
यसमध्ये यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै १४.२ प्रतिशत वृद्धिदर छ भने खानी तथा उत्खनन क्षेत्रमा ९.५ प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ।
यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै विद्युत् तथा ग्यास क्षेत्रले ९.२ प्रतिशत वृद्धिदर कायम गरेको छ।
त्यसैगरी, निर्माण सामग्रीहरुको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदर ९.१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।
यसका साथै उत्पादनमूलक उद्योगको कुल मूल्यअभिवृद्धि वृद्धिदर ७.४ प्रतिशत र निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदर ६.६ प्रतिशत हुने अनुमान गरिएको छ। व्यापार क्षेत्रको वृद्धिदर ६.१ प्रतिशत र सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर ४.९ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान गरिएको छ। धानको उत्पादनमा भएको वृद्धि साथै तरकारी, अमिलो जातको फलफूल तथा हिउदे फलफुल र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्यअभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
अर्कोतर्फ, अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि थप विस्तार भएको हो।
त्यसैगरी, गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार हुन गएको प्रारम्भिक अनुमान छ।
यस त्रैमासिकमा सार्वजनिक प्रशासन तथा रक्षा (२.२४), स्वास्थ्य ( ३.१%), घरजग्गा कारोबार ( ३.१% ) लगायतका सेवा क्षेत्रका अन्य क्रियाकलापको वृद्धिदर सामान्य रहेको छ ।
Shares

प्रतिक्रिया