वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा बिना लेवलका उत्पादनहरु खुलम खुला विक्री वितरण भइरहेको भेटिएको बताएका छन्।
बुधबार विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनविरुद्ध हुने गरी बिना लेवलका उत्पादन बजारमा विक्री वितरण भइरहेको पाइएको बताए।
सिमेन्ट र डन्डीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासोपछि उत्पादक र व्यवसायीसँग छलफल गरिएको जानकारी दिए।
उत्पादित वस्तुको मूल्य वृद्धि हुनाको औचित्य पुष्टि गर्न उत्पादक र व्यवसायीलाई निर्देशन दिएको उनको भनाइ छ। उनले उत्पादनमा अधिकत्तम खुद्रा मूल्य र वस्तुको गुणस्तर प्रष्ट रुपमा लेख्नुपर्ने कानूनी व्यवस्था विपरित उत्पादक र व्यवसायीले कानूनको बर्खिलाप गरेको बताए।
उनले बिना लेवलका सिमेन्ट र डन्डी बिक्री गर्ने केही डिलरलाई बिक्री वितरणमा रोक लगाइएको बताए।
महानिर्देशक दाहालले भने, ‘हाल बजारमा सिमेन्ट र डन्डी लगायतका केही वस्तुहरुमा अत्यधिक मूल्य वृद्धि भएको विषयमा सिमेन्ट र डन्डी उतपादक तथा व्यवसायी एवं तिनीहरुलका उत्पादक संघसँग छलफल र अन्तरक्रिया गरिएको र उनीहरुलाई मूल्य वृद्धिको कारण औचित्य पुष्टि गर्न निर्देशन दिइएको छ। केही सिमेन्ट र डन्डीका डिलरहरुलाई विक्री वितरणमा रोक पनि लगाइएको छ।’
महानिर्देशक दाहालले कानूनको भावना र मर्मविपरित हुनेगरी विना लेवलका कुनैपनि उत्पादन बिक्री वितरण नगर्न आग्रह गरे। उनले बिना लेवलका वस्तु बजारमा भेटिए कानूनी कारबाही गर्ने चेतावनी दिए।
महानिर्देशक दाहालले उत्पादक र व्यवसायीले वस्तुको मूल्य बढाउनुपर्ने कारणको औचित्य पुष्टि गर्नुपर्ने बताए। उत्पादक र व्यवसायीले बढी लाभका लागि अनुचित मूल्य वृद्धि गरेको भेटिए कानून अनुसार कारबाही हुने उनको भनाइ छ।
Shares

प्रतिक्रिया