नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपालमा अब लोडसेडिङ हुने अवस्था नरहेको बताएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो। मंगलबार नेपालखबरसँगको कुराकानीमा उनले जनताको घरमा लोडसेडिङ नहुने र डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोगको बक्यौता सहजै समाधान गर्ने दाबी गरेका हुन्।
व्यवस्थापनमा पोख्त मानिने घिसिङलाई प्राधिकरणबाट हटाएसँगै लोडसेडिङ हुनसक्ने धेरैको चिन्ता छ। तर शाक्यले भने बजारको हल्लालाई सिधै इन्कार गरे।
‘पहिला उहाँको (कुलमान) कार्यकाल सकिएर म नियुक्त हुँदा पनि लोडसेडिङ हुन्छ भन्ने हल्ला फैलाइएको थियो’, शाक्यले भने, ‘तर त्यो बेला पनि लोडसेडिङ भएन। झन् विद्युत् नियमित आपूर्ति भएको थियो। अहिले पनि लोडसेडिङ हुने अवस्था छैन।’
पछिल्लो समय भारतले रातिको समयमा विद्युत् दिन छाडेको छ भने सुख्खायामको कारण नेपालमा विद्युत् उत्पादन एकदमै कम छ। सोही कारण प्राधिकरणले उद्योगमा १२ घण्टासम्म विद्युत् कटौती गरी सर्वसाधारणको घरमा विद्युत् आपूर्ति गरिरहेको छ।
‘अबको एक हप्तापछि हिउँ पग्लिएर नदीमा पानी बग्न थाल्छ। अहिले विद्युत् उत्पादन कम भइरहेको अवस्थामा थप विद्युत् उत्पादन भई सहज हुने देखिन्छ’, शाक्यले बिजुली व्यवस्थापनबारे थपे, ‘भारतले नदिएको सन्दर्भमा थप छलफल गरी कसरी व्यवस्थापन गर्न सकिन्छ।’
भिडिओ हेर्नुहोस्:
शाक्यले विद्युत् कम हुँदा उद्योगी व्यवसायी बढी प्रभावित भएको उल्लेख गरे। उद्योगी व्यवसायीले रोजगारी सिर्जना गर्ने र राज्यलाई कर तिर्ने भएकाले उनीहरुलाई कसरी बढी विद्युत् दिन सकिन्छ भन्नेमा ध्यान दिने उनको भनाइ छ।
त्यस्तै, डेडिकेटेड र ट्रंकलाइनको विवाद सहजै समाधान गर्न सकिने अवस्था रहेको पनि उनले बताएका छन्।
यसअघि डेडिकेटेड र ट्रंकलाइनको विषयमा निर्णय गर्ने समयमा आफू कहिल्यै संलग्न नभएकाले थप निर्णय गर्न कुनै अप्ठ्यारो नहुने उनको दाबी छ।
‘डेडिकेटेड र ट्रंकलाइनको विषयमा यसअघि मेरो कुनै संलग्नता नभएकाले निष्पक्ष निर्णय गर्न सक्छु’, उनले भने, ‘लामो समय अल्झिएका विषय स्पष्टरूपमा सल्टाउन सकिन्छ।’
आफूले अहिलेसम्म पत्र नपाएकाले कार्यकारी निर्देशकमा नियुक्त भए राम्रो व्यवस्थापन गरी परिणाम निकाल्ने दाबी गरे।
Shares

प्रतिक्रिया