कारोबार


मन्त्रीले लोडसेडिङ हुने भनेपछि कुलमानको प्रतिक्रिया– भएको छैन, हुँदा पनि हुँदैन

मन्त्रीले लोडसेडिङ हुने भनेपछि कुलमानको प्रतिक्रिया– भएको छैन, हुँदा पनि हुँदैन

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८१ बुधबार १८:१३, काठमाडौँ

नेपालमा फेरि लोडसेडिङ हुने भनी जिम्मेवार व्यक्तिबाटै भाषणबाजी हुनथालेपछि नेपाल विद्युत् प्राधिकरणले त्यसलाई नकारिदिएको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने बताएका हुन्। 

बुधबार राष्ट्रियसभा बैठकमा उपस्थित हुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालमा अब लोडसेडिङ रोक्न नसकिने बताएका थिए। 

तर घिसिङले भने राति पूरै पावरप्लान्टहरु चल्ने र दिउँसो आयात भइरहेकाले लोडसेडिङ नहुने स्पष्ट पारे। 

‘लोडसेडिङ भएको छैन, हुँदा पनि हुँदैन। हाम्रा सबै पावरप्लान्टहरु राति चल्छन्’, उनले नेपालखबरसँग भने, ‘भारतबाट दिउँसो बिजुली आयात गर्न दिएकै छ, दिउँसो आउँछ। त्यसकारण लोडसेडिङ हुँदैन।’ 

तर ऊर्जामन्त्री खड्काले भने भारतबाट बिजुली आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिएको जिकिर गर्दै अब आयातलाई थेग्न सक्ने अवस्था नभएको दाबी गरेका थिए। सो क्रममा उनले घिसिङलाई ‘उज्यालो नेपाल’को नायक नभएको समेत बताएका थिए। 

सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले जम्मा ७ सय मेगावाट बिजुली मात्र उत्पादन गरिरहेको मन्त्री खड्काको भनाइ थियो। ८३० मेगावाट बिजुली आयात गरेर नेपालको आपूर्ति धानिरहेको उनको भनाइ थियो। 

तर कुलमानले भने लोडसेडिङ नहुनेमा ढुक्क हुन आग्रह गरे। उनका अनुसार एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि लोडसेडिङ हुने अवस्था छैन। 

‘कुलेखानी, माथिल्लो तामाकोशी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमे, साञ्जेनजस्ता धेरै आयोजनाहरु राति चल्छन्’, उनले थपे, ‘करिब करिब १००० मेगावाटका आयोजना पिकआवरमै फुल क्यापासिटीमा चल्छ। १००० प्लस रनअफ रिभर गरी १६/१७ सय मेगावाट आयोजना चल्छ।’

यस्तो अवस्था रहेकाले लोडसेडिङ हुने हल्लामा नदौडिन उनको आग्रह छ।

कार्यकारी निर्देशक घिसिङका अनुसार नेपालमा पिक टाइममा करिब १८/१९ सय मेगावाट बिजुलीको माग हुन्छ। तर त्यसलाई प्राधिकरणले आवश्यक व्यवस्थापन मिलाएको उनको भनाइ छ। 

उनले भने, ‘केही उद्योगलाई हामी पिक टाइममा चलाउन दिँदैनौँ। त्यति हुँदा हामीलाई बिजुली मज्जाले पुग्छ।’ 

हेर्नुहोस् मन्त्री खड्काको अभिव्यक्ति:


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad