नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले धितोपत्र दोस्रो बजारमा अन्तिम मूल्यको विद्यमान व्यवस्था परिवर्तन गरेको छ।
नेप्सेको सोमबार बसेको सञ्चालक समिति बैठकले भोलिबाट कार्यान्वयनमा आउने गरी बजार बन्द हुनु १५ मिनेटअगाडिको औसत मूल्यलाई अन्तिम मूल्य मान्ने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको हो।
नेप्सेका अनुसार कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ अनुसार बिहीबारबाट नयाँ व्यवस्था लागू हुनेछ। योसँगै अब कारोबार दिनको २ः४५ देखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ। त्यही मूल्य भोलिपल्टको कारोबारको सुरुवाती मूल्य तोकिनेछ।
उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने समेत विनियमावलीमा उल्लेख छ।
नेप्सेले कारोबारको अन्तिम समयमा हुने चलखेल नियन्त्रणका लागि अन्तिम मूल्य कार्यान्वयनमा ल्याएको हो।
सर्किटमा खेल्ने लगानीकर्तालाई रोक्न नयाँ व्यवस्था, फेरिँदै छ अन्तिम सेयरमूल्य गणनाको विधि
योसँगै धितोपत्रको दोस्रो बजारका कारोबारमा आएका कम्पनीको अन्तिम मूल्य र सुरुवाती मूल्यको गणना विधिमा परिवर्तन हुनेछ। हाल बजार बन्द हुने अन्तिम समयको मूल्यलाई नै भोलिपल्टको सुरुवाती मूल्य मान्ने व्यवस्था छ भने अहिले ३ बजेसम्मकै मूल्यलाई भोलिपल्टको सुरुवाती मूल्य मानिँदै आएको छ।
यो व्यवस्थाअनुसार दोस्रो बजार बन्द हुनु केही मिनेट तथा सेकेन्डमा लगानीकर्ताले सेयर खरिद चाप बढाएर कम्पनीको मूल्यमा सर्किट लगाउनेजस्ता कामहरु गर्दै आएका थिए।
सेयर कित्ता खरिदबिक्री नबढ्दै मागका आधारमा अन्तिम समयमा मूल्यमा सर्किट लगाउने विकृति बजारमा बढ्न थालेपछि नेप्सेले मूल्य निर्धारणको विधि परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको थियो।
Shares

प्रतिक्रिया