स्वास्थ्य बिमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बोर्डमा वित्तीय दीगोपना स्थापित गर्न आफूले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
शुक्रबार स्वास्थ्य बिमा बोर्डको कार्यालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले बोर्डले प्रवाह गर्ने स्वास्थ्य सेवा सरल, सुलभ र गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले बोर्डले दिने सेवा प्रभावकारी बनाउन सुशासनको महत्वपूर्ण भुमिका रहने भएकाले सुशासन कायम गर्न लागि पर्ने बताए।
उनले आफ्नो कार्यकालमा सर्वव्यापी स्वास्थ्य सहभागिता सुनिश्चित गर्ने दाबी गरे।
उनले भने, ‘मैले चार वर्षको अवधिमा चार प्लस एक पाँच काम गरेर बाहिरिने छु। एउटा युनिभर्सल हेल्थ कभरेज सर्वव्यापी स्वास्थ्य सहभागिता सुनिश्चत गर्नेछु। दोस्रो वित्तीय दीगोपना स्वास्थ्य बीमा बोर्डमा वित्तीय दिगोपना स्थापित गर्ने कुरामा मेरो महत्वपूर्ण भूमिका रहने छ। तेस्रो विषय बोर्डले प्रवाह गर्ने अर्थात बोर्डले सेवाप्रदायक संस्थाहरुमार्फत् प्रवाह गर्ने स्वास्थ्य सेवा सरल, सुलभ र गुणस्तरीय हुने छन्। त्यसमा अहिले दिइ राखेको सेवामा थप गुणस्तरीयता र सहजता प्रदान गरिने छ। चौथो विषय बोर्डको संस्थागत क्षमता सुदृढ बनाउने कुरा रहने छ। यी चारवटा विषय मेरा चार वर्षका प्रतिवद्धता हुन्।’
डा काफ्लेले थपे, ‘यसमा अर्को एउटा महत्वपूर्ण विषय चारवटै विषयमा जोडिने मैले चार प्लस एक भनेर सुशासनलाई भनेको छु। सुशानको पाटो मैले व्यक्त गरेको प्रतिवद्धता पूरा गर्नका लागि सबै ठाउँमा उत्तिकै महत्वपूर्ण हुने हुँदा त्यसलाई सबै पक्षमा लैजाने मेरो चार प्लस एकको प्रतिवद्धता चार वर्षमा पुरा गर्ने भनेर मैले भनेको छु।’
कार्यकारी निर्देशक डा काफ्लेले सात सय ५३ वटै पालिकाबाट बिस्तारित स्वास्थ्य बीमाबाट लाखौँ सर्वसाधारण लाभान्वित भएको बताए। सेवा प्रवाहमा देखिएका समस्याहरु बोर्डले नीतिगत निर्णय गरेर समाधान गर्ने उनको भनाइ छ। उनले सेवा प्रवाहका लागि देखिएका आर्थिक समस्याहरु सरकारसँग सहकार्य गरेर समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे।
डा काफ्लेले अहिले भइरहेको स्वास्थ्य सेवाको प्याकेजमा पुनरावलोकन गर्ने बताए। सेवा प्रदायकलाई आश्वस्थ पारेर स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थागत रुपमा अगाडि बढाउने उनको भनाइ छ।
Shares

प्रतिक्रिया