साढे २ अर्बको सिक्टा सिँचाइ ठेक्का प्रक्रिया विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ताकेतापछि सार्वजनिक खरिद अनुगमनको कार्यालयले ७ दिनभित्र लिखित जवाफ दिन आयोजनालाई पत्र पठाएको छ।
सिक्टा सिँचाइ आयोजनालाई यही फागुन २१ मा पत्र पठाउँदै कार्यालयले ठेक्का प्रक्रियामा के भएको हो, पछिसम्म फरक नपर्ने गरी आयोजनाको विस्तृत प्रतिक्रिया ७ दिनभित्र पठाउन भनेको हो।
आयोजनाको टेन्डर प्रक्रियामा कार्टेलिङ गरिएको र कमिसन भागबण्डामा सेटिङ मिलाएको आरोपसहित उजुरी परेको थियो।
गत पुस १ मा आयोजनाको दुईवटा प्याकेजमा टेन्डर आह्वान गरिएको थियो। तर भागबण्डा मिलाएर थोरै कम्पनीलाई प्रतिस्पर्धा गराई शर्मा एन्ड शर्मा कम्पनी र कुमार श्रेष्ठ निर्माण सेवालाई ठेक्का दिने सेटिङ मिलाएको भन्दै सम्बन्धित निकायमा उजुरी परेपछि विवादमा परेको थियो।
सोसँगै गत फागुन ६ मा अख्तियारमा समेत उजुरी परेपछि अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो। सोही सिलसिलामा अख्तियारले फागुन १२ गते सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाउँदै ‘कानुनबमोजिम आवश्यक कारबाही गर्न’ निर्देशन दिएको छ।
अख्तियारको पत्रपछि सार्वजनिक खरिदले आयोजनालाई पत्र लेखेको हो।
साढे २ अर्बको सिक्टा सिँचाइ ठेक्का प्रक्रिया ‘होल्ड’, अख्तियारले थाल्यो अनुसन्धान
कुल ४३ किमि लामो नहरमा शाखा २३ किलोमिटरको र उपशाखाहरू १०–१० किमिका बन्दै छन्। यसका लागि दुईवटा प्याकेजमा टेन्डर आह्वान गरिएको छ। नहरको लागत अनुमान २ अर्ब ५० करोड रुपैयाँ छ।
यो ठेक्का सिक्टा सिँचाइ आयोजनाले निर्माण गर्न थालेको मुख्य नहरसँग जोडिने डुडुवा शाखा र उपशाखाका लागि आह्वान भएको थियो।
दुवै प्याकेजमा ११–११ कम्पनीले आवेदन दिएका छन्। तर सिँचाइ विभागले ‘हाइड्रोलिक स्ट्रक्चर’को अनुभवलाई सिँचाइका पूर्वाधार बनाउने योग्यताको मान्यता नदिँदा प्राविधिक छनोटमै ३–४ कम्पनी बाहिरिने निश्चित छ।
नेपाल निर्माण व्यवसायी महासंघदेखि अन्य निर्माण व्यवसायीसम्मले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालयमा हाइड्रोको अनुभव भएका कम्पनीलाई टेन्डरमा प्रतिस्पर्धा गर्न माग गर्दै उजुरी दिएका छन्। खरिद अनुगमन कार्यालयको निर्देशनअनुसार एक पटक सामान्य संशोधन गरे पनि सिक्टा सिँचाइ आयोजनाले पूर्ण रुपमा भाग लिने व्यवस्था गरेको छैन।
उक्त ठेक्कामा ११ कम्पनीले प्रस्ताव हालेका छन्। आयोजनाको डुडुवा नहरको प्याकेज ५ मा प्रस्ताव हाल्नेमा ११ कम्पनी सहभागी छन्। जसमा लामा कन्स्ट्रक्सन कम्पनी प्रालि, शर्मा एण्ड कम्पनी प्रालि, बन्धन भगवती निर्माण सेवा प्रालि, कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, फेवा श्री गीता जेभी, माउन्टेन इन्फा कम्पनी लिमिटेड, रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, अर्घाखाँची इन्जिनियर्स बिल्डर्स कम्पनी, हाइ हिमालय आरएस्सी जेभी, स्वछन्द निर्माण सेवा प्रालि र लुम्बिनी बिल्डर्स प्रालि रहेका छन्।
त्यसैगरी प्याकेज ६ मा पनि ११ कम्पनीले प्रस्ताव हालेका छन्। यो प्याकेजमा लामा कन्स्ट्रक्सन कम्पनी प्रालि, शर्मा एण्ड कम्पनी प्रालि, रामेछाप शेर्पा कन्स्ट्रक्सन, बन्धन भगवती निर्माण सेवा प्रालि, कुमार श्रेष्ठ निर्माणसेवा प्रालि, फेवा श्री गीता जेभी, रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, अर्घाखाँची इन्जिनियर एण्ड बिल्डर्स कम्पनी प्रालि, थ्रिएचसी पीके प्रालि, स्वछन्द निर्माण सेवा प्रालि र लुम्बिनी बिल्डर्स प्रालिले प्रस्ताव हालेका छन्।
Shares

प्रतिक्रिया