उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा उत्पादित वस्तुहरुलाई विश्व बजारमा पुर्याउन आन्तरिक लगानीको प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विधेयकको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन्।
उनले बढ्दो आयात असन्तुलनलाई व्यवस्थित गर्न निकासी पैठारी विधेयक ल्याइएको बताए।
मन्त्री भण्डारीले वस्तु निर्यात गर्न नसक्नुका कारणबारे विधेयकको दफावार छलफलका क्रममा निर्क्यौल गर्दै विधेयकलाई थप समृद्ध बनाउनुपर्ने बताए।
उनले सरकारले तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा कर बढी लगाउँदा नेपाली बजारमा वस्तुको भाउ महंगो हुने गरेको उल्लेख गरे।
२०१३ सालमा बनेको ऐनलाई थप समृद्ध बनाउँदै आजको आवश्यकताअनुसार विधेयक ल्याइएको स्पष्ट पारे।
उनले भने, ‘हिजो २०१३ सालमा बनेको ऐन अहिलेको समयसापेक्ष हुन सकेन। यसलाई समृद्ध बनाउँदै आजका आवश्यकता र चुनौतिहरुलाई सम्बोधन गर्न नयाँ ऐन खोजिएको छ। हामीले बनाएका कयौं ऐनहरुमा काम गर्न आजको दिनमा गाह्रो भइरहेको छ। हामीले अबको पूँजीबजारमा नेपालको आन्तरिक पुँजी प्रवर्द्धन गर्ने, बाह्य पूँजीलाई भित्र्याउने हाम्रो लक्ष्य छ। वस्तु निर्यातमा बाह्य लगानी आवश्यक छ, आन्तरिक लगानीको प्रवर्द्धन आवश्यक छ। तब मात्र हामी हाम्रा वस्तुलाई विश्व बजारमा पुर्याउन सक्छौं।’
विधेयकले नेपाली वस्तु तथा सेवाको वस्तु निर्यातमा सहजिकरण गर्ने मन्त्री भण्डारीको विश्वास छ।

प्रतिक्रिया